रियल मड्रिडको सान्दार जित, एट्लेटिको मड्रिडको लज्जास्पद हार

शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल मड्रिडले जित निकालेको छ । सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा रियलले घरेलु प्रतिद्धन्द्धी लेगानेसलाई ४–१ गोलले पराजित गरेको हो ।

रियलले खेलको १७ औं मिनेटमा नै अग्रता लिएको थियो । रियलको लागि ड्यानी कार्भाहालको पासमा ग्यारेथ बेलले गोल गरे । तर, २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीको सदुपयोग गर्दै गुइडो कारिल्लोले गोल गरे ।

दोस्रो हाफमा रियल फर्मममा आयो । ४८ औं मिनेटमा मार्को एसेन्सियाको पासमा करिम बेन्जेमा, ६१ औं मिनेटमा लुका मोड्रिचको पासमा करिम बेन्जेमा तथा ६६ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्र्फत गोल गरेपछि रियल ४–१ गोलले विजयी भएको हो ।

त्यसै गरि अर्को खेलमा एट्लेटिको मड्रिड सेल्टा भिगोसँग पराजित भएको छ । सेल्टाको घरेलु मैदान बालाडोसमा सम्पन्न खेलमा घरेलु टिम २–० गोलले विजयी भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टिम आक्रामक देखिएको थियो । खेलको ४६ औं मिनेटमा नै म्याक्सी गोमेजले गोल गरेर घरेलु टिमलाई अग्रता दिए । त्यस्तै, ५२ औं मिनेटमा म्याक्सी गोमेजको पासमा इयागो आसपासले गोल गरेर अग्रता दोब्बर पारेका थिए ।

खेलमा फर्कने प्रयास गरेको एट्लेटिको मड्रिडलाई सेल्टाले रोक्यो । पाहुना टोली बढी आक्रामक हुँदा ७० औं मिनेटमा १० खेलाडीमा सीमित हुनुपर्यो । डिफेन्डर स्टेफान साभिक दोहोर पँहेलो कार्डको शिकार बन्दा एट्लेटिको मड्रिड बढी दवावमा देखियो र खेल सेल्टाको पक्षमा गयो ।