रियल मड्रिडको प्लेजन माथी सान्दार जित

रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । समूह चरणअन्तर्गत भएको चौथो खेलमा उसले चेक रिपब्लिकको क्लब भिक्टोरिया प्लेजनमाथि ५–० को जित निकालेको हो । अवे मैदानमा भएको खेलमा रियललाई फराकिलो जित दिलाउनेक्रममा ४ जना खेलाडीले गोल गरे । त्यसक्रममा फ्रेन्च स्टार करिम बेन्जिमाले २ गोल गरे ।

रियलले खेलको २०औं मिनेटमा पहिलो गोल गरेको थियो । सो गोल बेन्जिमाले गरे । त्यसको ३ मिनेटमै कासेमिरोले टाउकोले गोल गरे भने ३७औं मिनेटमा बेन्जिमाले नै व्यक्तिगत दोसो गोल गरे । त्यसपछि ४०औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दा रियल पहिलो हाफमा ४–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि रियलले गोल थप्यो । जहाँ खेलको ६७औं मिनेटमा जर्मन खेलाडी टोनी क्रुसले गोल गरेपछि रियल घरेलु टोलीविरुद्ध ५–० ले अगाडि रह्यो ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि रियलले खेल ५–० ले जित्यो ।

यो जितसँगै रियलले आफ्नो समूहमा ४ खेलबाट ९ अंक जोडेको छ । उसले समान ९ अंक नै भएको इटालियन रोमालाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थान लिएको हो ।