रियल मड्रिडको नजरमा रहेका खेलाडी भित्र्याउन आर्सनल इच्छुक

एजेन्सी, इङलिस क्लब आर्सनलको नजर म्यान्चेस्टर सिटिका स्टार खेलाडी रहिम स्टर्लिङ माथी परेको छ। रिपोर्टका अनुसार बिगत केही सिजन देखि खराब प्रदर्शन गर्दै आएको आर्सनल एक स्टार खेलाडी भित्र्याउन चाहान्छ र म्यानचेस्टर सिटी बेच्न इच्छुक भएको खण्डमा रहिम स्टर्लिङलाई भित्र्याउन खोज्ने छ।

म्यान्चेस्टर सिटिमा युवा खेलाडी फिल फोडेनको उत्कृष्ट प्रदर्शनका कारण रहिम स्टर्लिङको खेल समयमा गिरावट आएको छ। यसै कारण म्यान्चेस्टर सिटिका प्रशिक्षक पेप गुवार्डिओलाले यो ट्रान्सफर सिजन स्टर्लिङलाई बेच्न खोज्ने संभावना रहेको छ। सिटि बेच्न इच्छुक भए स्टर्लिङ भित्र्याउने डौडमा रियल मड्रिड पनि रहेको कारण स्टर्लिङ आर्सनल जाने संभावना भने न्यून रहेको छ।
स्टर्लिङको मुल्य करिब ९० मिलियन युरो रहेको आंकलन गरिएको छ।सन् २०१५ मा उनी ४९ मिलियन पाउन्डमा लिभरपुलबाट म्यान्चेस्टर सिटीका लागी अनुबन्धित भएका थिए।
२६ वर्षका स्टर्लिङले सिटीका लागि २९१ खेलमा ११४ गोल गरि सकेका छन्। आफ्नो गतिका लागि चिनिएका स्टर्लिङ विङगर भएता पनि अट्याकिङ मिड्फिल्डर र स्ट्राइकरका रूपमा पनि खेल्छन्।