रियल मड्रिडको जितमा रामोस र मार्सेलोको गोल

स्पेनिस ला लिगामा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।

कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल्फ्रेडो डी स्टेफानो मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे ।

इबरका पेड्रो बिगासले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो ।

त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो ।

दोस्रो हाफमा इबरले एक गोल फर्कायो । खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन् ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ । र, उपाधि होड कायम राखेको छ ।

बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ ।

पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।