रियलले लियो खेलाडी भित्र्याउने/नभित्र्याउने बारे यस्तो निर्णय

रियल म्याड्रीडले यसपटक नयाँ खेलाडी नभित्राउने विषयमा आफ्नो मनस्थिति यथावत राखेको देखिएको छ । पैसा जोगाउनका लागि प्रशिक्षक जिनेदिन जिदानले यो सिजन नयाँ खेलाडी नथप्ने योजना बताएका छन् ।

रियलले यो सिजन खेलाडी विक्री गरेर क्लबले १ सय मिलियन युरो जोगाएको छ । क्लबले कोरोनाका कारण आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरुलाई २० प्रतिशत तलब कटौतीको प्रस्ताव राख्ने तयारी पनि गरेको छ । यसबारे खेलाडीसँग बैठक बस्न बाँकी रहेको छ ।

यसैबीचमा इन्डिसन काभानीलाई भित्राउन विषयमा पनि क्लबमा चर्चा सुरु भएको छ । तर, अहिले टोलीमा भएका खेलाडी यथावत रहँदाको अवस्थामा भने काभानी नल्याउनेमा रियल पुगेको बताइन्छ । लुका जोभिक ,मारियानो डिज र ब्रोजा मायोरलले क्लब छाड्न अपेक्षा रियलले गरेको थियो ।

यदि उनीहरु अन्य क्लबमा गएको खण्डमा उनीहरुको ठाँउमा रियलले काभानीलाई भित्राउन सक्छ । यदि उनीहरु अन्य क्लबमा नगएको खण्डमा भने काभानी ल्याउने सम्भावना कम छ । क्लबले जिदानलाई पूर्ण रुपमा विश्वास गरेको छ ।

अहिलेकै टोलीबाट पनि टोलीले नयाँ सिजनमा उच्च प्रदर्शन गर्न सक्नेमा व्यवस्थापन आशावादी छ । रियल आर्थिक जोखिम उठाउने पक्षमा छैन । त्यसैले खेलाडी भित्राउने विषयमा सरुवा बजारको अन्तिम समय सम्म क्लबले कुर्ने सम्भावना छ ।

फुटबलमा दर्शक सायद जनवरीबाट फर्कन सक्छन् । त्यति बेलाको सरुवा बजारमा भने रियलले नयाँ खेलाडी भित्राउने विषयमा सोच्न सक्ने सम्भावना रहेको बताइन्छ । विशेषत: रियलले अर्को सिजन ठूलो अनुबन्धन गर्नका लागि रकम बचाएको अनुमान रहेको छ ।