‘रियलमा रोनाल्डोको गोलको अभाव खड्कियो’

रियल मड्रिड यतिबेला संकटपूर्ण घडीबाट गुज्रिरहेको छ । ऊ सिजनको सुरुआतमा खराब नतिजाको सिकार भयो भने शनिबार राति मात्रै ऊ इएबारसँग अवे मैदानमा ३–० ले स्तब्ध भयो । यो हारपछि रियल यतिबेला लिगको छैटौं स्थानमा छ । एइबारसँग ०–३ ले हारेपछि रियल मड्रिडका खेलाडीको फ्यान बेसमा आलोचना बढेको छ । विशेष गरी फरवार्डमाथि गोल गर्न नसकेको आरोप लागेको छ ।

यसैबेला रियलका लेफ्ट ब्याक मार्सेलोले भने टोलीमा अहिले पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डाको अभाव खड्किरहेको बताएका छन् । उनले रोनाल्डो आफूहरूका लागि विगत भइसके पनि अहिले टोलीमा उनको गोलको अभाव देखिएको बताए ।

एइबारसँग पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यस खेलमा हामीले आफ्नो स्तरअनुसार खेल्न सकेनौं । हाम्रो कोसिस असफल भयो,’ मार्सेलोले ले भने, ‘अवश्य पनि, यतिबेला हामीलाई रोनाल्डोको गोलको अभाव खड्किरहेको छ ।’

तर, मार्सेलोले टोलीमा नरहेका खेलाडीको नाम लिएर आफ्नो समस्या समाधान नहुने बताए । ‘रोनाल्डो अब रियलका लागि विगत हुन्, यतिबेला हामीले हामी भित्रबाटै समाधान खोज्नुपर्छ,’ उनले भने, ‘हामी आगामी दिनमा थप महेनत गरेर फर्किन्छौं ।’