रियलका स्टार खेलाडीले भने “मेस्सी बालोन डि ओरको हकदार थिएनन्”

रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई बालोन डी‘ओर दिने फ्रान्स फुटबलको निर्णयबाट असन्तुष्ट बनेका छन् । वास्तविक हकदार करिम बेन्जेमा भएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका खेलाडी मेस्सीलाई दिइएको भन्दै क्रुसले असन्तुष्टि जनाएका हुन् ।

सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भब्य समारोहबीच फ्रान्स फुटबलले मेस्सीलाई बालोन डी‘ओर प्रदान गरेको थियो । राष्ट्रिय टोलीबाट पहिलो उपाधिस्वरूप कोपा अमेरिकाको ट्रफी उचालेका मेस्सीले पोल्यान्डका रोबर्ट लेवान्डोस्की र इटालियन जोर्गिन्होलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

फ्रान्स फुटबलले मेस्सीलाई हकदार मान्दा क्रुस असन्तुष्ट छन्, जबकी बेन्जेमा टप–३ मा समेत छैनन् । ‘मैले भन्नैपर्दाखेरी, म यस्तो व्यक्तिगत अवार्डहरूमा खासै रुचि राख्दिनँ । तथापि, यहाँ केही अवार्डहरू छन्, जसमा निष्पक्षता छैन । मेरो विचार यो सबै अवार्डमा लागू नहोला’, उनले भनेका छन् ।

यस्तै, क्रुसले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोपछि मेस्सी नै उत्कृष्ट खेलाडी भएकाे जनाउँदै तरपनि यस पटक बेन्जेमा नै प्रमुख हकदार रहेकाे सुनाए ।

‘मेरा लागि, बेन्जेमा नम्बर वान थिए’, उनले भने, ‘गत वर्षको उत्कृष्ट खेलाडी बेन्जेमा नै थिए । किनकि, मलाई थाहा छ फुटबलमा उनको योगदान कति छ । यसमा कुनै शङ्का छैन कि क्रिस्टियानो रोनाल्डोपछिका उत्कृष्ट खेलाडी मेस्सी नै हुन् र उनीहरूमा अरूको भन्दा फरक क्षमता छ । बालोन डी‘ओर प्रदानका क्रममा सबैभन्दा ठुलो त्रुटी भएको छ ।’