रियलका सबै फरवार्डभन्दा सुआरेजको गोल धेरै

लुइस सुआरेज सिजनको सुरुवातमा आलोचनाको पात्र बनेका थिए । कारण, उनले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् र गोल पनि निस्केको थिएन । तर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लागत गोल गरिरहेका छन् ।

बार्सिलोनाका मुख्य फरवार्डको भूमिका निर्वाह गरिरहेका ३१ वर्षीय सुआरेजले शनिबार भालेकानोविरुद्धको जितमा पनि दुई गोल गरे । पछिल्लो साता क्याम्प नोउमा भएको एल क्लासिकोमा रियल म्याड्रिडलाई ५-१ ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए । सुआरेजले पछिल्ला दुई खेलमा ५ गोल गरेसँगै उनले लयमा फर्केको संकेत देखाएका छन् ।

सुआरेज लगातार गोलसँगै बार्सिलोनाको लागि जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी क्रिस्टियन स्टुआनी र इयागो आस्पासभन्दा १ गोल बढी गर्दै ९ गोलका साथ शीर्षस्थानमा छन् । यता रियल म्याड्रिडले भने लगातार खराब प्रदर्शन गर्दा फरवार्डहरु चल्न सकेका छैनन् । रियलका लागि ग्यारेथ बेलले ४, करीम बेन्जेमाले ३ र मार्को एसेन्सियो १ गोल गरेका छन् । रियलका फरवार्डहरुले ८ गोल गर्दा सुआरेज एक्लैले ९ गोल गरिसकेका छन् ।

यद्यपी च्याम्पियन्स लिगमा भने उनले आफ्नो लय कायम गर्न सकेका छैनन् । उनले युरोपमा गोल गर्न सकेका छैनन् । मेसीको अनुपस्थितिमा उनीमाथि जिम्मेवारी थपिएको छ । बार्सिलोनाले च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानको सामना गर्दैछ ।