रियलका टार्गेट पोग्बा युनाइटेडमै रहनुपर्छ – जुवान माटा

जुवान माटाले पोग्बा म्यानचेष्टर युनाइटेडमै रहनुपर्ने बताएका छन् । पूर्व क्लब युभेन्टस र रियल मड्रिडमा जाने चर्चा चलिरहँदा माटाले पोग्बा युनाइटेडमै रहनुपर्ने बताएका हुन् ।

“पोग्बाको युनाइटेडमा सकारात्मक प्रभाव रहेको छ, उनी युनाइटेडमै रहनुपर्छ,” माटाले भने ।

पोग्बाले केही समयअघि आफूले नयाँ चुनौती खोजेको बताएका थिए । त्यसपछि उनी पूर्व क्लब युभेन्टस र मड्रिड जाने चर्चा चलेको थियो । २६ वर्षीय पोग्बा सन् २०१६ को अगस्टमा युभेन्टसबाट ९९ मिलियन युरोमा युनाइटेडमा आएका थिए । अझै पनि पोग्बा क्लबकै टिमको अस्ट्रेलिया र एसियाको प्रि–सिजन टुरमा व्यस्त छन् ।

“हामी सबैलाई थाहा छ पोग्बा क्षमतावान मिडफिल्डर हुन् र उनी धेरै असल छन्, सकारात्मक छन् । सबैमा आफ्नो प्रभाव छाडेका छन्,” माटाले थपे, “मलाई लाग्छ उनी खुशी छन् र सबैलाई एकजुट बनाएका छन् ।

टिममेट र साथी भएको नाताले म उनलाई खुशी हुन र युनाइटेडमा रहन भन्न चाहन्छु किनभने उनी एक असल खेलाडी हुन् ।”