राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

एन्फा ले नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । एन्फाले बुधबार महर्जनलाई राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो ।

नेपाली यु–१६ र यु–२३ टोलीको जिम्मेवारी समेत सम्हालिसकेका महर्जनले बंगलादेशको ढाकामा यहि सेप्टेम्बर ४ देखि १५ तारीखसम्म हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व गर्नेछन् । महर्जन कै नेतृत्वमा नेपालको यु–२३ टोलीले सन् २०१६ मा बंगलादेश मै सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षक ग्योतुकु कोजी भिषाको समस्याका कारण नेपाल फर्कन नसकेपछि राष्ट्रिय टोलीको प्रशिक्षकीय जिम्मेवारी महर्जनलाई दिइएको हो । यस बर्षको साफ च्याम्पियनसिपतफ नेपाल, भुटान, बंगलादेश र पाकिस्तानसँगै समूह ए मा रहेको छ ।