राष्ट्रिय फुटबल टिमको क्याप्टेनमा सुजल श्रेष्ठ चयन

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो ।

नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो ।

कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग नेपालले सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।