‘राष्ट्रिय टिम सबैभन्दा महत्वपूर्ण’

सन्दीप लामिछाने र सोमपाल कामीले आगामी जुलाई अन्तिम सातादेखि क्यानडामा आयोजना हुने ग्लोबल टी-२० क्रिकेटको सुरुआती तीन खेल गुमाउने भएका छन् । ग्लोबल टी–२० प्रतियोगिता जुलाई २५ देखि अगष्ट ११ सम्म हुने छ । विस्तृत तालिका भने अझै सार्वजनिक गरिएको छैन् ।

नेपालको राष्ट्रिय टिमले यही समयमा आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्दै छ । सिंगापुरमा जुलाई २२ देखि जुलाई २८ सम्म यो प्रतियोगिता हुँदैछ ।

नेपालले २३ तारिखमा कतार, २४ तारिखमा मलेसिया, २७ तारिखमा कुवेत र २८ तारिखमा सिंगापुरसँग खेल्ने छ । राष्ट्रिय टिमको खेल र ग्लोबल टी–२० को मिति जुधेकाले सन्दीप र सोमपालले क्यानडामा सुरुआती तीन खेल गुमाउने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा सोमपालले भने ‘ग्लोबल टी-२०का लागि छनोट भएकोमा खुसी लागेको छ, तर मैले शुरुका तीन खेल खेल्न पाउने छैन, किन भने ग्लोबल टी-२० भन्दा मेरो राष्ट्रिय टिम महत्वपूर्ण हो ।’

सन्दीपले टोरन्टो नेश्नल र सोमपालले विनीपेग हक्सबाट खेल्ने छ । सोमपाल पहिलो पटक विदेशी टी-२० लिगमा छनोट भएका हुन् । सन्दीप लगातार दोस्रो पटक यो लिग खेल्दैछन् । सन्दीपले गत सिजनमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।