राष्ट्रिय घोडचढी प्रतियोगिता हुने

नेपाल घोडचढी संघको आयोजनामा पुस २५ गते छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा पुरुष र महिला गरी कुल २६ राइडरको सहभागिता रहने नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले बताए। टुँडिखेलमा हुने प्रतियोगितामा पुरुषतर्प टेन्ट पेगिङ, हर्स सो जम्प र हर्स हाइजम्प गरी तीन विधा समावेश गरिएको छ ।

जहाँ तीन वटै विधाका विजेताले नगद २० हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

यता ६ महिला खेलाडीको सहभागिता रहने सिक्स क्रस बार जम्पमा सहभागी सबै खेलाडीलाई प्रोत्साहन स्वरूप जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिने पनि राजकर्णीकारले बताए। ‘हामीले नियमित रूपमा प्रतियोगिताको आयोजना गरिरहेका छौं,’राजकर्णीकारले भने, ‘आर्मीका व्यावसायीक खेलाडी(नेपाल क्याबलरी)को मात्र प्रतियोगितामा सहभागिता रहनेछ। सर्वसाधारणसम्म यो खेलको प्रचार होस् भन्ने उद्देश्यले पनि प्रतियोगिताको आयोजना गरेका हौं।’

राजकर्णीकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)लगायतबाट सहयोगको वाचा भएको समेत बताए।

‘हामीले राखेप, ओलम्पिक कमिटी, भ्रमण वर्ष २०२० अभियानबाट पनि विशेष सहयोगको अपेक्षा गरेका छौं,’राजकर्णीकारले भने,‘त्यसैले हामी निकै उत्साही छौं।

हामीले अन्तर्राष्ट्रिय घोडचढी महासंघको सदस्यताका लागि पनि पहल गरिरहेका छौं। उहाँहरुले प्रत्येक वर्ष दुई राष्ट्रलाई सदस्यता प्रदान गर्दै आउनु भएको छ। २०२० नोभेम्बरसम्ममा हामीले सदस्यता पाउनेमा विश्वस्त छौं।’

उनले यस पटकको प्रतियोगिता संघका तत्कालीन महासचिव स्वर्गीय बलराम श्रेष्ठप्रति समर्पण गरेको बताएका छन्। प्रतियोगितालाई कतार एयरवेज, टिभिएस, मित्सुबीले प्रायोजन गर्नेछन् भने केटिएम सिटी क्लोथिङ पार्टनर र नेपाल रिपब्लिक मिडिया अफिसियल मिडिया पार्टनर रहेको छ।

प्रायोजन स्वरूप कतार एयरवेजले नेपाल घोडचढी संघलाई दुई अन्तर्राष्ट्रिय हवाई टिकट प्रदान गर्नेछ। संघले सोही टिकट बिक्रीबाट प्रायोजन रकम पाउनेछ। यता टिभिएस र मित्सुबीले भने समान २ लाख रुपैयाँको प्रायोजन सम्झौता गरेका हुन्। टुँडिखेलमा हुने प्रतियोगितामा पुरुषतर्प टेन्ट पेगिङ, हर्स सो जम्प र हर्स हाइजम्प गरी तीन विधा समावेश गरिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ