‘रामोस पिएसजी आउनुमा नेमारको मुख्य भूमिका’

रियल म्याड्रिडका पूर्व डिफेन्डर तथा कप्तान सर्जियो रामोस फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन् र पिएसजीसँग दुई बर्षको सम्झौता गर्दै उनी पेरिसमा आउनुमा उनले पिएसजीका ब्राजिलियन स्टार नेमारको ठुलो भूमिका रहेको बताएका छन्।

३५ वर्षका स्टार डिफेन्डरले रियल छोड्ने भए पछि उनी माथि धेरै क्लबको नजर रहेको थियो। म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी जस्ता क्लब उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न धेरै इच्छुक रहेको बेला उनले पिएसजी जाने निर्णय लिएका थिए र सो निर्णयमा उनले नेमारको भूमिका रहेको खुलाएका छन्।

रामोसले रियल छोड्ने चर्चाहरू हुँदै गर्दा नेमारले उनलाई पिएसजीमा आउन आग्रह गर्दै फोन गरेको खबरहरू थियो र उक्त कुराको रामोसले पुष्टि गरेका छन्।

रामोसले एक अन्तर्वार्तामा भने: ‘नेमारले मलाई पिएसजीमा आउनको मनाए।

“नयाँ क्लबको लागि हस्ताक्षर गर्नु भन्दा पहिले धेरै खेलाडीहरू वा क्लबका सदस्यहरू सँग कुराकानी गर्न सधैँ सहयोगी हुन्छ। मैले नेमार, लियोनार्डो र नासर अल-खलयफी सँग कुरा गरे र सबैले आ-आफ्नो तरीकाले मलाई मनाए।”

रामोस रियलको एक लेजेण्डको रुपमा रहेका छन् र उनले क्लब छोड्ने कुरा रियलले पुष्टि गरेको थियो। २००५मा उनी सेभिल्लाबाट रियल आएका थिए र हाल सम्म उनले रियलको लागि ६७१ खेल खेल्दै १०१ गोल र ४० असिस्ट गरेका छन्। उनले रियल सँग धेरै उपाधिहरू जितेका छन् जसमा ४ च्याम्पियन्स लिग र ५ लिग उपाधिहरू पनि रहेको छ।