रामोसले पि.एस.जि जानू अघि आर्सनलको प्रस्तावलाई अस्विकार गरेको खुलासा

एजेन्सी, हालै पि.एस.जिमा अनुबन्धित भएका स्पेनिश स्टार डिफेन्डर सर्जियो रामोसले पि.एस.जिमा अनुबन्धित हुने निर्णय लिनु अघि इङलिस क्लब आर्सनलको प्रस्तावलाई अस्विकार गरेको भनिएको छ। रिपोर्टका अनुसार पुर्व रियल मड्रिड कप्तानले आर्सनलका साथसाथै अर्का इङलिस क्लब म्यान्चेस्टर सिटिको प्रस्तावलाई पनि अस्वीकार गरेका थिए।

रिपोर्टका अनुसार आर्सनलले उनलाई प्रती सिजन १५ मिलियन पाउन्ड सम्मको प्रस्ताव गर्ने सोचमा थिए जुन उनले अस्विकार गरेका थिए। उनी पि.एस.जिमा प्रती सिजन १३ मिलियन पाउन्डमा दुई वर्षका लागि अनुबन्ध भएका हुन्।
३५ वर्षका स्पेनिश स्टार डिफेन्डर रामोसले गत महिना आफुले रियल मड्रिड छाडेको घोषणा गरेका थिए। उनी करिब १६ वर्ष सम्म रियलमा अनुबन्ध थिए। उनले रियलको जर्सीमा ६७१ खेल खेल्नुका साथै १०१ गोल पनि गरेका थिए। उनी फ्री ट्रान्सफरमा दुई वर्षका लागि पि.एस.जिमा अनुबन्ध भएका हुन्।