रविन श्रेष्ठको फुटबलमा कमब्याक

झट्ट हेर्दा निकै लिखुरे देखिन्छन् रविन श्रेष्ठ । मैदानमा उस्तै देख्ने भइहाल्यो । फुटबलमा शारीरिक प्रतिस्पर्धा पनि गर्नुपर्ने अवस्थामा मैदानबाहिर हेर्दा उनलाई राम्रो खेल्छन् भनेर पत्याइहाल्न गाह्रै लाग्छ । तर, यिनै लिखुरे ज्यानले साफ च्याम्पियनसिप २०१३ मा आकर्षक खेल देखाएका थिए ।

उनको दौडाइको गति र लेफ्ट–ब्याकबाट अगाडि बढेर गर्ने क्रस लोभलाग्दो हुन्थ्यो । त्यतिबेला नेपाली टिम दशरथ रंगशालामा सेमिफाइनलमा अफगानिस्तानसँग हारेको थियो । त्यो साफमा घरेलु टिमकै उत्कृष्ट खेलाडीको मोटरसाइकल पुरस्कार यिनै रविनले पाएका थिए ।

नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि पहिलो उपाधिको रूपमा बंगबन्धु गोल्डकप २०१६ जितेको थियो । त्यही वर्ष हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा एएफसी सोलिडारिटी कप पनि जित्यो । दुवै उपाधि यात्रामा नेपाली टिमको लेफ्ट–ब्याकमा थिए रविन । त्यसयता भने उनको करिअरमा ठूलै उतारचढाव आयो ।

सोलिडारिटी कप विजेताको हैसियतमा नेपालले एसियन कप २०१९ को छनोट खेल्ने मौका पाएको थियो । पहिलो खेल थियो फिलिपिन्सविरुद्ध मनिलामा । मार्च २८, २०१७ को त्यो खेल फिलिपिन्सले ४–१ ले जित्यो । रविनकै क्रसमा विशाल राईले गोल गरेका थिए । तर खेल सकिन करिब चार मिनेट बाँकी छँदै रविन दाहिने घुँडामा चोट लागेपछि मैदान छाड्न बाध्य भए । फर्केर ग्रान्डी अस्पतालमा एसीएलको शल्यक्रिया गराए । ९ महिना फुटबलबाट टाढै रहे ।

पुलिस क्लबका यी खेलाडी शारीरिक रूपमा लिखुरे देखिए पनि मानसिक तबरले भने निकै बलिया छन् । आत्मविश्वासी छन् । त्यसैले शल्यक्रियाको ९ महिनापछि प्रतियोगितामा पुनरागमन गरे । राम्रै लयमा फर्किए । जापानी प्रशिक्षक ग्योतोकु कोजीले उनलाई राष्ट्रिय टिमको ‘क्याम्प’ मा बोलाए । एसियाली खेलकुद २०१८ र साफ च्याम्पियनसिप २०१८ को तयारीमा यू–२३ र सिनियरको मिश्रित टिम मैत्रीपूर्ण खेलको लागि बैंकक गयो । पहिलो खेलमा टेरो एफसीसँग १–० ले हार्‍यो । अर्को खेल थियो थाइल्यान्डको यू–२३ टिमविरुद्ध । अगस्ट १०, २०१८ को त्यो खेल नेपालले ४–० ले गुमायो ।

बैंककमा दोस्रो खेलमा मौका पाएका रविनले थामासाट विश्वविद्यालयको मैदानमा २० मिनेटमै छाड्नुपर्‍यो । फेरि त्यही दाहिने घुँडामा चोट लाग्यो । एसीएलमै । उनलाई त्यो खेलमा के भयो भन्ने पनि सम्झना छैन । यति मात्रै याद छ कि ‘टर्न गर्दा ट्विस्ट’ भएको थियो । बल्ल त्यो (पुरानो)) चोटबाट मुक्ति पाएका उनको राष्ट्रिय टिममा पुनरागमन गर्ने जोस अब आशामा बदलियो । उनीसँगै प्रशिक्षक नवीन महर्जनले खेलाडीको उपचारका लागि विश्वमै चर्चित रहेको अस्पेटर, दोहामा उपचार गर्ने अवसर पाए ।

रविनको त्यही घुँडा उस्तै चोटको दोस्रो शल्यक्रिया जनवरी २९, २०१८ मा भयो । एक महिना अस्पतालमै बिताए । फर्केर पछि पुनर्स्थापना (रिह्याब) को लागि करिब दुई महिना अस्पेटरमै बसे । त्यहीं बलसँगै अभ्यास पनि सुरु गरे । फर्केर तयारीलाई तीव्र बनाए । एक महिनायता पुलिस क्लबमा टिमसँगै ट्रेनिङ गरेका उनी १७ महिनापछि प्रतिस्पर्धामा फर्किएका छन् । उनको दोस्रो ‘कमब्याक’ को खेल रह्यो सरस्वती युवा क्लबविरुद्ध । दशरथ रंगशालामा शुक्रबारको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उक्त खेल पुलिसले २–० ले जित्यो ।

रोहितको प्रभाव
एन्फा एकेडेमीमा छँदा रविनभन्दा एक ब्याच जुनियर हुन् रोहित चन्द । रोहित एसीएलकै शल्यक्रियापछि करिअरकै उत्कृष्ट लयमा छन् । केही खेलाडीको भने यस्तो किसिमको चोटपछि करिअर नै समाप्त भएको पनि छ ।

‘एसीएलको उपचार पहिला ओपन सर्जरीबाटै हुन्थ्यो । रिकोभरी त्यति थिएन । गाह्रो हुन्थ्यो । माइकल ओवेन (लिभरपुल र इंग्ल्यान्डका पूर्व फरवार्ड) ले खेल नै छाड्नुपर्‍यो,’ रविनले भने, ‘अहिले आधुनिक प्रविधिले धेरै सजिलो बनाएको छ । त्यस्तो गाह्रो छैन । बाहिर (विदेश) ३ महिना, ६ महिनामै खेलाडीले कमब्याक गर्छन् । नेपालकै राम्रो खेलाडीमध्ये एक रोहितलाई हेरें । उसले कमब्याक गर्नसक्छ भने म किन सक्दिनँ भन्ने लाग्यो । उनी मिल्ने साथी र भाइ पनि हुन् । इन्डोनेसियामै रहे पनि रोहितले मलाई कमब्याक गर्न धेरै सहयोग गरे ।’ इन्डोनेसियन लिग वानको सिजन सकाएर दुई दिनअघि स्वदेश फर्किएका रोहत पनि रविनको पुनरागमनको खेल हेर्न त्रिपुरेश्वर आइपुगेका थिए ।

दुईपल्टको चोटमा मैदानबाहिरै रहँदा रविन क्लब र राष्ट्रिय टिमका खेलमा सकेसम्म प्रत्यक्षदर्शी हुन्थे भने त्यो सम्भव नहुँदा टेलिभिजन/युट्युबमा हेर्थे । ती मन बिझाउने क्षणबारे उनी बोले, ‘खेल्ने मान्छे भएपछि खेल्न नपाउँदा दुखभन्दा बढी छट्पटाहट हुँदोरहेछ । के नभए, के नभएजस्तो । बिहान उठेदेखि सुतुन्जेलसम्म फुटबल भनेर हिँड्ने मान्छे केही नभएपछि मन अलि आतिन्थ्यो ।’

उनको ज्यान जति लिखुरे छ, ठीक विपरीत मुटु भने बलियो छ । अर्थात् मानसिक रूपमा बलिया छन् । ‘गाह्रो कहिले महसुस भएन । गाह्रो मानिनँ । गाह्रो मानेको भए यसरी कमब्याक गर्थिनँ होला,’ मलिन स्वरमा उनी बोले, ‘मिहिनेत गरें, जारी छ, अझै राम्रो गर्न प्रयास गर्नेछु । अझै राम्रो भएर आउने छु ।’ पुलिससँग दुईपल्ट ए डिभजिन लिग र एकपल्ट राष्ट्रिय लिग जितेका उनले थपे, ‘मिहिनेत नगरी क्लबको टिममा पर्न सम्भव छैन, राष्ट्रिय टिमको कुरा त पछिको हो । राष्ट्रिय टिममा कमब्याक गर्न एकदमै मन छ । कमब्याक गरेपछि अगाडि सोच्न मन छ ।’

पहिलो जित
यो लिगको तेस्रो खेलमा आएर पुलिसले पहिलो जित रचेको हो । त्यो पनि रविनको पुनरामगन र कप्तानीमा । उनको खुसी यत्तिमै सीमित छैन । जन्मदिन पनि हो उनको । ‘वर्थ–डे, कमब्याक र कप्तानी जित’ लाई लिएर ३० वर्षीय रविन भावुक भए, ‘एउटा खेलाडीका लागि त्योभन्दा बढी (पुनरागमन) के नै हुन्छ र १ त्यही पनि लिगजस्तो महत्त्वपूर्ण प्रतियोगितामा ३ अंक पाएका छौं । एकदमै खुसी छु ।’ उनको यी तीन पक्षको खुसीमा बुवा, पत्नी, छोरी र आफन्तहरू साक्षी बन्न शुक्रबार रंगशालाको प्यारापिटमा आइपुगेका थिए ।

यो चिसो मौसममा बर्थ–डे परिवारलाई रंगशालाबाहिर पर्खाएर नबलेको फ्लडलाइटमुनि उभिएका रविनले भने, ‘कमब्याक गर्दिनँ भन्ने कहिल्यै लागेन । त्यस्तो महसुस नै भएन । पहिला पनि चाँडै खेलौंजस्तो भएको थियो । यसपालि विश्वकै उत्कृष्ट हस्पिटलमा उपचार गर्ने मौका पाएँ, रिकोभरी गर्न पाएँ । त्यसैले कन्फिडेन्ट भएँ । पहिलाभन्दा बढी कन्फिडेन्ट ।’ लिगको अघिल्ला दुई खेलमा पुलिसको लेफ्ट–ब्याकमा प्रवेश दनुवार खेलेका थिए । राइट–ब्याक सन्तोष हेमरन घाइते भएपछि प्रवेशलाई अर्को साइडमा खेलाउँदै प्रशिक्षक अनन्तराज थापाले लेफ्ट–ब्याकमा रविन उतारेका हुन् । ‘रविनले ट्रेनिङमा मिहिनेत गरिरहेका थिए । तर, सुरुका दुई खेलमा चुनौती लिइनँ,’ प्रशिक्षक थापाले भने, ‘आज उनको ठाउँबाट त्यति गल्ती भएको छैन । अझै मिहिनेत गर्नुपर्नेछ ।’

पुलिसको पहिलो खेलमा जुमनु राई र दोस्रोमा नीरकुमार राईले कप्तानी गरेका थिए । तेस्रो चरणमा ‘आर्मब्यान्ड’ रविनलाई दिइएकोबारे उनले भने, ‘विभागीय टिममा वरिष्ठताको कुरा आउँछ । प्रोटोकल मिलाउँदा कप्तान परिवर्तन भइरहन्छ । मलाई लाग्छ टिममा सबै खेलाडी कप्तान हुन् । सबैले कप्तान भएको महसुस गरे टिम स्पिरिट राम्रो हुन्छ ।’ प्रहरीका असई रविन यसअघि पनि थुप्रै खेलमा टिमका कप्तान भइसकेका छन् ।

@Kantipur