“येस पटक पनि बेलन डि’ अर जित्न योग्य छन् रोनाल्डो”

युभेन्ट्सका म्यानेजर म्याक्स अलेग्रीलाई लाग्छ युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो प्रतिष्ठित बेलन डि अर अवार्ड जित्न योग्य छन् । स्मरणीय छ कि हाल बाहिर हल्ला चलेअनुसार यो अवार्डको शिर्ष तीनभित्र रोनाल्डोको नाम छैन ।

रोनाल्डोले रियल मेड्रिडसँग लगातार तीन च्याम्पियन्स लिगको उपाधि जित्नु, युभेन्ट्समा आवद्ध भएपछि शानदार शुरुवात गर्नु र फिफा विश्वकपमा पोर्चुगलका लागि ह्याट्रिक गर्नु यी र यस्ता तथ्यांकहरुकै भरमा उनी बेलन डि अर अवार्डका लागि भिड्दै छन् ।

बाहिर हल्ला चलेअनुसार यो अवार्डको शिर्ष तीनमा रियल मेड्रिडका राफेल वरान, लुका मोड्रिक र पेरिस सेन्ट जर्मेनका किलियन एम्बाप्पेको नाम सामेल छ । फोर फोर टुका अनुसार युभेन्ट्सका म्यानेजर अलेग्री बेलन डि अरका लागि यो शिर्ष तीनको छनौटलाई लिएर सहमत छैनन् ।

अलेग्रीलाई लाग्छ यो अवार्ड रोनाल्डोले फेरि एकपटक जित्नुपर्छ । एक पत्रकार सम्मेलनमा सहभागि बनेका अलेग्रीले भने, “मलाई बेलन डि अरको मनोनयनबारे केही थाहा छैन । तर रोनाल्डोले जे जति गरेका छन्, त्यसका लागि उनी यो अवार्ड जित्न योग्य छन् ।”