‘येस्तै ताल हो भने हामीले कुनै उपाधि जित्न सक्दैनौं’ – लुइस सुवारेज

ला लिगामा आफ्नो घरमा १६औं स्थानको टोली एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिँदा बार्सिलोनाको चर्को आलोचना भयो । टोलीका प्रशिक्षक अर्नेस्टो भान्लभर्डे र कप्तान लिओनल मेस्सीले पनि यसबारे खेलपछि बोलेका थिए ।

बार्सिलोनाले ला लिगाका पछिल्ला ३ खेल जित्न सकेको छैन । जसमा २ खेलमा बराबरीमा रोकिँदा १ खेल हारेको छ । यसबाट उसले सुरुआती ७ खेलबाट ७ अंक गुमाएको छ ।

यसैबेला बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेजले आफ्नो टोलीको प्रदर्शनबारे बोलेका छन् । उनले युरोपियन च्याम्पियन्स लिगमा दोस्रो खेल खेल्नुअघि स्पेनका स्थानीय मिडियासँग कुरा गर्दै आफूहरूको टोलीमा तत्काल व्यापक परिवर्तन आउनुपर्ने बताएका छन् ।

स्वारेजले टोलीको संरचना र नतिजामा तत्काल परिवर्तन नआए र अहिलेकै अवस्था रहे बार्सिलोनाले यो सिजन कुनै उपाधि नजित्ने बताए । ‘हामीले सिजनको सुरुआत राम्रो गरेका थियौं । तर, बिस्तारै हामी समस्यामा पर्दैछौं,’ उनले भने, ‘घरेलु लिगमा लगातार ३ खेल जित्न नसक्नु चिन्ताको विषय हो ।

बार्सिलोनाको टोलीमा तत्काल परिवर्तन आवश्यक रहेको स्वारेजले बताए । ‘अब हामीले खेल र नतिजामा परिवर्तन ल्याउने गरी नखेले हामीले यो सिजन कुनै उपाध जित्दैनौं,’ उनले भने, ‘३ खेल जित्न नसक्नु खतराको घन्टी हो ।’