यु–१९ छनोटमा नेपाल: भारतविरुद्धको खेल गर वा मर

एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

प्रतियोगितामा अंक बिहिन नेपाललाई अघिल्लो चरण पुग्न भारतलाई हराउनुपर्ने दबाब छ । नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले भारतविरुद्धको खेल नेपालका लागि गर वा मरको अवस्थामा रहेको बताए । उनले दुवै टोलीको स्तर समान भएकाले भारतविरुद्व आक्रमक फुटबल खेल्ने उल्लेख गरे ।

नेपाल आफ्नो पहिलो खेलमा थाईल्याण्डसंग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

‘हामी गर वा मरको अवस्थामा छौ । हामी आक्रमक खेल खेल्नेछौ । कुनैपनि हालतमा जित निकाल्ने छौ ।’ म्याचको अघिल्लो दिन प्रशिक्षक श्रेष्ठले भने ।

भारत र नेपालको स्तर समान भएकाले दबाब महशु्श गर्नुपर्ने कुनै कारण नभएको उनको भनाई छ । ‘थाईल्याण्डसंग हारेपनि हाम्रो आत्मविश्वास उच्च छ । भारत भन्दा थाईल्याण्ड अलिकति माथिल्लो स्तरको टोली हो ।’ उनले भनेका छन्, ‘तर नेपाल र भारत दुवै टोलीको स्तर समान छ । राष्ट्रिय टिमबाट खेलेका खेलाडी भएकाले मेरो टिम बलियो छ ।’

भारतीय भारतीय प्रशिक्षक एलेक्स एम्बोर्सले नेपालविरुद्द भारत जितका लागि उत्रने बताए । ‘पाकिस्तानलाई १८–० ले पराजित गरेपनि नेपालविरुद्धको खेल सजिलो हुने छैन ।’ उनले भने, ‘नेपालले थाईल्याण्डसंग भिड्ने स्पिरिट देखाएको छ । तर हामी जितलाई हेरिरहेका छौ ।’