युवा स्टार मनिष डाँगी साफ खेल्न भदौ तेस्रो साता नेपाल आईपुग्ने

घरेलु मैदानमा हुने साफ यू–१८ फुटबल च्याम्पियनसिप खेल्न मनिष डाँगी भदौ तेस्रो साता मात्रै नेपाल आईपुग्ने भएका छन् ।

कोरियाको फुटबल एकेडेमीमा ब्यस्त रहेका मनिष नेपालमा आयोजना हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा खेल्न भदौको तेस्रो साता मात्र नेपाल आउने भएका हुन् ।

साफ फुटबलको तयारीका लागि ४६ सदस्यीय प्रारम्भिक टोलीले अहिले प्रशिक्षण गरिरहेको छ ।

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मनिषलाई प्रारम्भिक टोलीमा बोलाएका छन् ।

उनी पहिलो पटक नेपालको उमेर समुहको प्रतियोगिताको प्रारम्भिक टोलीमा छनोट भएका हुन् । साफ खेल्न मनिष भदौ १६ गते नेपाल आईपुग्ने कार्यक्रम रहेको छ । नेपाली टिमले प्रतियागिताको लागि साउन १९ बाट जावलाखेल युथ क्लबको मैदानमा तयारी सुरु गरिसकेको छ ।

साफको प्रराम्भिक टोलीमा सहभागी हुन मनिष हिजाे (बिहिबार) आउने कार्यक्रम थियो । तर क्लबको व्यस्तताको कारण मनिष नेपाल आउने तालिका सरेको मनिषकी आमा रिता गुरुङ डाँगीले खेलपाटीलाई बताईन् ।

‘सुरुमा आज आउने कुरा थियो । क्लबमा ब्यस्त छ । क्लबले पनि छाड्न मानेन । सोही कारण अब ढिला हुने भयो ।’ उनले भनिन् ।

साफ अन्डर १८ काठमाडौंका स्वयम्भुस्थित हलचोक मैदानमा हुदैछ । समुह एमा रहेको नेपालले उद्घाटन खेलमा असोज ३ गते पाकिस्तानसंग खेल्नेछ । दोस्रो खेल ५ गते माल्दिभ्ससँग र तेस्रो खेलमा ७ गते भुटानसँग खेल्नेछ । फाइनल खेल असोज १२ गते हुनेछ ।

को हुन मनिष ?

चैत पहिलो साताबाट सुरु भएको सी डिभिजन लिगमा घरेलु फुटबलमा देखिएका मनिषले आफुलाई प्रभावशाली खेलाडीको रुपमा प्रस्तुत गरेका थिए । लिगका अन्तिम खेलहरु खेलेका उनले खालीबारी युथलाई सी डिभिजन लिगको च्याम्पियन बनाएका थिए ।

उनी नेपाली नागरिकता बनाउन नेपाल आएका थिए । उनले खालीबारीलाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनले लिगको अन्तिम ३ खेलमा ५ गोल गरेका थिए ।

लिग लगत्तै उनले एएफसी कपको तयारीमा रहेको नेपालको लिग च्याम्पियन क्लब मनाङ मस्र्याङ्दी क्लबमा समेत ‘ट्रायल’ दिएका थिए ।

मनिष यतिबेला कोरियाको एकेडेमीमा ब्यस्त छन् । स्थानीय क्लबबाट खेलिरहेका उनले युरोपका क्लबहरुमा समेत ‘ट्रायल’ दिईरहेका छन् । सोही कारण उनी नेपाल आउन ढिला भएको हो । मनिषकी आमा रिताका अनुसार उनले अहिले कोरियाका विभिन्न क्लबमा ‘ट्रायल’ दिईरहेका छन् ।

‘क्लबको खेल चलिरहेको छ । त्यसैले क्लबले केही ढिला पठाउने भएको हो । अन्य क्लबको ‘ट्रायल’मा समेत मनिष सहभागी छ ।’ उनले भनिन् ।

साफको तेस्रो संस्करणसम्म आईपुग्दा नेपाल दुई पटकको च्याम्पियन हो । प्रतियोगितामा नेपाल ‘ह्याट्रिक’ गर्ने दाउमा छ । मनिषको आगमनसंगै नेपालले उपाधिमा ह्याट्रिक गर्ने आश फुटबल समर्थकले गरेका छन् ।