‘युवा फरवार्ड किलियन एमबाप्पेले बलोन डी’ओर जित्न सक्छन्’

फ्रान्सेली राष्ट्रिय टोलीका मिडफिल्डर ब्लेस माटुइडीले युवा फरवार्ड किलियन एमबाप्पेले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर जित्न सक्ने क्षमता रहेको बताएका छन् ।

१९ वर्षीय एमबाप्पे यसपटक पनि ब्यालोन डी’ओरको मनोनयनमा परेका छन् । तर उनलाई उपाधिको दावेदारमा भने राखिएको छैन । यद्यपी माटुइडीका अनुसार गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई तेहेरो उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पे हकदार भने छन् । एमबाप्पे फ्रान्सले विश्वकप उपाधि जित्दा प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पनि घोषित भएका थिए ।

‘उनी मनोनयनमा परेका छन् त्यसैले जित्ने सम्भावना पनि छ । एमबाप्पेले युवा उमेरमा पनि आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै आएका छन्,’ माटुइडीले भने, ‘ उनले मैदानमा जे गर्छन त्यो निकै नै लोभलाग्दो छ । हामीले प्रशिक्षणमा पनि त्यो देख्न पाउँछौं । हामी उनीसँग खेल्न पाउँदा निकै खुसि छौं ।’

‘म यसले जित्छ वा त्यसले जित्छ भन्न चाहन्न । यो गर्दा शत्रु कमाउने गरिन्छ । जो उत्कृष्ट छ त्यसले जितोस भन्ने मेरो कामना हो,’ उनले थपे,’ तर एमबाप्पेले ब्यालोन डी’ओर जित्न गर्नुपर्ने सबै कार्य यस सिजन गरेका छन् ।’

फ्रान्सेली डिफेन्डर राफेल भारानको लागि पनि बितेको वर्ष सुखद रहयो । उनले फ्रान्सबाट विश्वकप जित्नुसँगै स्पेनिस क्लब रियल म्याड्रिडका लागि च्याम्पियन्स लिग उपाधि जिते । माटुइडीले उनको पनि प्रशंसा गरे । ‘राफेलको लागि गत सिजन उत्कृष्ट रहयो । विश्व च्याम्पियन बन्नुसँगै च्याम्पियन्स लिग उपाधि पनि जिते । त्यो उनको लागि राम्रो हो,’ माटुइडीले भने ।