युरो २०२० अन्तर्गत फ्रान्स र पोर्चुगल बिचको खेल बराबरीमा समाप्त

एजेन्सी, युरो २०२० अन्तर्गत ग्रुप एफको पोर्चुगल र फ्रान्स बिचको खेल बराबरीमा टुंगिएको छ। नेपाली समय अनुसार जुन २४ बिहीबार बिहान १२:४५ मा सुरु भएको उक्त खेल २-२ को बराबरीमा टुंगिएको छ।

पहिलो हाफको ३० औ मिनेटमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पोर्चुगलका डानिलो माथी फल गरे पछि पोर्चुगलले पेनाल्टी पाएको थियो जसलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिवर्तन गरि पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए।
खेलको ४५ औ मिनेटको थप समयमा भने पोर्चुगलका नेल्सन सेमेडोले किलियन एम्बापे माथी फल गरे पछि फ्रान्सले पेनाल्टी पाएको थियो जसलाई करिम बेन्जेमाले गोलमा परिवर्तन गरि फ्रान्सलाई खेलमा फर्काएका थिए।
दोश्रो हाफको सुरुवाती ४७ औ मिनेटमा फ्रान्सका पल पोग्बाको पासमा पुनः करिम बेन्जेमाले गोल गरि फ्रान्सलाई २-१ को अग्रता दिलाउन सफल भएका थिए।

खेलको ६० औ मिनेटमा फ्रान्सका जुल्स कोउन्डेको ह्यन्ड बल भए पछि पोर्चुगलले पुनः पेनाल्टी पाएको थियो जसलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिवर्तन गरि पोर्चुगललाई खेलमा फर्काएका थिए। त्यसपछि थप कुनै गोल हुन नसक्दा खेल २-२ को बराबरीमा टुंगिएको हो।
पोर्चुगल राउन्ड अफ १६ मा बेल्जियमसँग नेपाली समय अनुसार जुन २८ सोमबार बिहान १२:४५ मा खेल्दै छन् भने फ्रान्स राउन्ड अफ १६ मा स्विट्जरल्याण्ड विरुद्ध नेपाली समय अनुसार जुन २९ मंगलबार बिहान १२:४५ मा खेल्दै छन्।