युरोप बाहिरका ३ भन्दा बढी खेलाडी खेलाए सेभियाले सुपर कप नखेल्ने, अब के गर्छ बार्सिलोना ?

सेभियाले बार्सिलोनाविरुद्ध आज हुने स्पेनिस सुपर कप फाइनल बहिष्कार गर्ने चेतावनी दिएको छ ।

बार्सिलोनाले युरोपबाहिरका ३ भन्दा बढी खेलाडी मैदानमा उतारे खेल नै बहिष्कार गर्ने उसको चेतावनी छ । यद्यपि स्पेनिस फूटबल संघले भने युरोपबाहिरका खेलाडीलाई लिएर टीममा कुनै पनि समस्या नरहेको प्रष्ट पारिसकेको छ ।

स्पेनमा ला लिगासहितका खेलमा एकसाथ ३ भन्दा बढी युरोपबाहिरका खेलाडी मैदान उतार्न पाइन्न ।

यद्यपि बार्सिलोनाले पछिल्लो एक वर्षयता ४ जना दक्षिण अमेरिकी खेलाडी अनुबन्धन गरिसकेको छ । जसमा ब्राजिलका फिलिप्पे कउटिन्हो, अर्थुर मेलो र माल्कोम तथा चिलीका अर्टुरो भिडाल छन् ।

बार्सिलोनामा दक्षिण अमेरिकाबाटै अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस सुआरेज पनि खेल्दै आएका छन् ।

क-कसलाई हुन्छ समस्या ?
लियोनल मेस्सीसँग स्पेनको पनि पासपोर्ट रहेकाले उनले युरोपेली खेलाडीकै हैसियतमा खेल्न पाउँछन् । यस्तै अवस्था लुइस सुआरेजको पनि छ । उनले आफ्नी पत्नीका तर्फबाट इटालियन पासपोर्ट लिइसकेका छन् ।

अब बाँकी रहे ४ जना– कउटिन्हो, मेलो, भिडाल र माल्कोम ।
यी चारैजना एकसाथ मैदान उत्रिनु नियमविपरीत हुने सेभियाको तर्क छ । यद्यपि कउटिन्होले हालै पोर्चुगलको पासपोर्ट प्राप्त गरेकाले अब समस्या नहुने कुरामा बार्सिलोना ढुक्क छ ।

कउटिन्होले युरोपेली खेलाडीकै हैसियतमा खेल्न पाउँदा बाँकी ३ जनाले बाहिरका खेलाडीको कोटाबाट खेल्न पाउने छन् ।
अर्का ब्राजिलयन खेलाडी मार्लोन सान्तोसलाई भने बार्सिलोनाले लोनमा पठाउने तयारी गरेको छ ।

Source: Lokaantar