युरोपको उत्कृष्ट फरवार्ड बन्न सफल रोनाल्डो

युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लिओनेल मेसी र लिभरपुलको मोहमद सलाहलाई पछाडी पार्दै उपाधि जिते ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै गोलको मदतले रियल च्याम्पियन बन्न सफल रहेको थियो ।

रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल अग्रेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

च्याम्पियन्स लिगमा रोनाल्डोले गत सिजन १३ खेलमा सहभागिता जनाए । त्यसक्रममा १ हजार १ सय ७० मिनेट मैदानमा बिताएका रोनाल्डोले १५ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले तीन असिस्ट पनि दिएका थिए । उनले हालसम्म पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।

रोनाल्डोले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक हासिल गरे । दोस्रो स्थानको मोहमद सलाहले २ सय १८ अंक जोड्दै प्रतिस्पर्धा दिएका थिए । तेस्रो स्थानका लिओनेल मेसीले ४३ अंक मात्र जोड्न सके । चौथो स्थान प्राप्त गरेका किलियन एमबाप्पेले १७ अंक हासिल गरे । पाँचौ स्थानमा रहेका एडिन जेको र ह्यारी केन १५-१५ अंक जोडेका थिए ।