युरोपका शीर्ष पाँच लिगबाट युभेन्टस नम्बर १ मा बार्सिलोना कहाँ ?

शीर्ष ५ लिगमध्ये ३ लिगमा विश्राम भइसकेको छ । क्रिसमस तथा नयाँ वर्षका लागि करिब दुई साताको लिग बिदा भएको हो । इटालियन सिरी ए र इंग्लिस प्रिमियर लिगमा भने अझै २–२ खेल भएर मात्रै लिग विश्राम हुनेछ । यद्यपि, खेल संख्याका हिसाबले अहिले ५ वटै लिगका टोलीले कम्तीमा १७–१७ खेल खेलिसकेका छन् । केहीले बढी पनि खेलेका छन् ।

यो वर्ष २०१८ सकिँदा धेरैजसो लिगमा १९ खेल सकिनेछन् । अर्थात्, आधा सिजन सकिने छ । युरोपका शीर्ष ५ लिगमा १७ खेल सकिँदा ‘लिग लिडर’हरूको अवस्था कस्तो छ ? अंक तालिकामा को बलियो छ ? यसबारे चर्चा गरिएको छ ।

नम्बर १ मा युभेन्टस

लिगका १७ खेल सकिँदा इटालियन युभेन्टसले युरोपका शीर्ष ५ लिगमध्ये लिगमा सबैभन्दा बढी अंक जोडेको छ । हालसम्म लिगमा अपराजित रहेको उसले कूल ४९ अंक बनाएको छ । र, युरोपका लिगमा १७ खेलपछि सबैभन्दा बढी अंक भएको टोली युभेन्टस नै हो । उसले लिगमा हालसम्म १७ खेलमा १६ खेल जित्दै मात्रै १ खेल बराबरी गरेर अपराजित रहँदै ४९ अंक बनाएको छ । उसले लिगमा हालसम्म मात्रै २ अंक गुमाएको छ । युभेन्टस अहिले दोस्रो स्थानको नापोलीभन्दा ८ अंकले अघि छ ।

पिएसजीलाई १३ अंकको अग्रता

दोस्रो नम्बरमा फ्रेन्च लिग वानको लिग लिडर तथा साबिक विजेता पिएसजी रहेको छ । ऊ पनि लिगमा अपराजित टोली हो । पिएसजीले १७ खेलबाट कूल ४७ अंक बनाएको छ ।
उसले हालसम्म १७ खेलमा १५ मा स्पष्ट जित निकाल्दै २ खेल बराबरी गर्दा हार व्यहोरेको छैन । उसले लिगमा ४ अंक गुमाएको छ । ऊ दोस्रो स्थानको लिलेभन्दा १३ अंकले अघि रहेको छ । ५ लिगमा सबैभन्दा फराकिलो अग्रता पिएसजीकै छ ।

साबिक विजेतालाई पछि पार्दै लिभरपुल

तेस्रो नम्बरमा इंग्लिस क्लब लिभरपुल रहेको छ । हालसम्म अपराजित रहेको लिभरपुलले १७ खेल सकिँदा ४५ अंक बनाएको छ । उसले १७ खेलमा कुनै खेल नहारी १४ मा स्पष्ट जित निकालेको छ भने ३ खेल बराबरी गरेको छ । लिगमा अपराजित रहेको लिभरपुलले लिगमा ६ अंक गुमाएको छ ।
प्रिमियर लिगमा १८ खेल सकिएकाले लिभरपुल हाल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले अघि रहेको छ ।

डर्टमुन्ड

चौथो नम्बरमा जर्मन लिग बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्ड रहेको छ । उसले लिगका १७ खेल सकिँदा कूल ४२ अंक बनाएको छ । उसले १७ खेलमा १३ खेल जितेको छ भने ३ खेल बराबरी गरेर १ खेल हारेको छ । उसले हालसम्म ९ अंक गुमाएको छ । ऊ दोस्रो स्थानको साबिक विजेता बार्यन म्युनिखभन्दा ६ अंकले अघि रहेको छ ।

बार्सिलोना

यतिबेला युरोपका शीर्ष ५ लिगमा अंक तालिकाका हिसाबले ला लिगाको साबिक विजेतासमेत रहेको बार्सिलोना सबैभन्दा कमजोर अवसथमा छ । उसले समान १७ खेल सकिँदा मात्रै ३७ अंक बनाएको छ । बार्सिलोनाले १७ खेलमा ११ खेल मात्रै जितेको छ भने ४ खेल बराबरी गरेर २ खेल हारेको छ । बार्सिलोनाले लिगमा हालसम्म १४ अंक गुमाइसकेको छ । यद्यपि, बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ३ अंकले अघि रहेको छ ।