युभेन्ट्स र डाइनामो किभबीचको खेलमा रोनाल्डो साथै रेफ्रीले पनि रचे इतिहास

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति इटालियन क्लब युभेन्ट्स र डाइनामो किभबीचको खेलमा स्टार रोनाल्डो र महिला रेफ्री स्टेफनीले इतिहास रचेका छन् ।

युभेन्ट्सको मैदानमा भएको उक्त खेल घरेलु टोलीले ३-० ले जितेको थियो ।

३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध एक गोल गर्दै आफ्नो व्यवसायिक खेल करियरको ७५०औं गोल पुरा गरेका हुन् । रोनाल्डोले स्पेनिस क्लब रियाल म्याड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन् ।

यस्तै यस खेलबाट नै स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । फ्रान्सकी स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन् । उनले च्याम्पियन्स लिगको डेब्यु खेलमा तीन खेलाडीलाई पहेलो कार्ड देखाइन् । किएभको एक पेनाल्टीलाई अस्वीकार गरेकी थिइन् ।

३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन्।

स्टेफनीले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप खेलाएकी थिइन् ।

सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन् ।