युभेन्ट्सको यङ ब्वाइज माथी उत्कृष्ट जित

च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ को खेलमा फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३-० ले पराजित गरेको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा रहेका कारण डिबालाले पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए । उनले उक्त अवसरको सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा नै गोलको खाता खोले । डिबालाले लिओनार्डो बोनुचीको क्रसलाई सदुपयोग गर्दै युभेन्ट्सको लागि गोलको खाता खोलेका थिए ।

 

पहिलो हाफको ३३ औं मिनेटमा युभेले डिबालाकै माध्यमबाट अग्रता दोब्बर पार्यो । मिडफिल्डर ब्लेस माटुइडीको शक्तिशाली प्रहारलाई गोलरक्षकले राम्रोसँग बचाउन सकेनन् । त्यहीं फर्केर आएको बललाई पोस्टको दिशा दिँदै डिबालाले युभेलाई २ गोलले अगाडी बढाए । पहिलो हाफमा थप अवसर सदुपयोग गर्न नसक्दा खेल २-० रहेको थियो ।

दोस्रो हाफमा युभेले आक्रामक रणनीति जारी राख्दै तेस्रो गोल गर्न सफल भयो । लगातार पास खेलेर बनाएको मुभमा अन्तिम प्रहार डिबालाले गरेका थिए । ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गरेका थिए । उनलाई अन्तिम पास जुआन क्वाडराडोले मिलाएका थिए । त्यसको केहि बेरमै योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । ३ मिनेटको अन्तरमा मोहमद अलि कामराले दोहोरो पहेंलो कार्ड पाएपछि बाहिर गएका थिए ।