युभेन्ट्सको जितमा फेरि गोल गर्न चुके रोनाल्डो

शनिबार राती भएको खेलमा युभेन्ट्सले पार्मालाई २-१ ले पराजित गरेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुरै समय आक्रमणमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली युभेले अग्रता लिएको थियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अगाडी बढाए । ३३ औं मिनेटमा जर्भिन्होले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा ब्लेस माटूइडीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले मान्जुकिचको पासको सदुपयोग गर्दै गोल गरेका थिए ।

लिगमा लगातार तेस्रो जित दर्ता गरेको युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । तर यसै सिजनको सुरुआतमा रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा भित्रिएका रोनाल्डोले गोल गर्न नसक्नु भने टाउको दुखाइ नै बनेको छ । रोनाल्डोले लिगका तीनै खेलमा पुरै समय खेलेका छन् । यस दौरान उनले पोस्टमा २४ प्रहार गरेपनि गोल गर्न भने सफल हुन सकेका छैनन् ।

लिगकै अर्को खेलमा इन्टर मिलानले बोलोग्नाको मैदानमा ३-० को जित हात पार्यो । इन्टरको लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यसै सिजन रोमाबाट इन्टर पुगेका राड्जा नाइनगोलनले ६६ औं मिनेटमा अग्रता दिलाए । त्यसपछि एन्टोनियो क्यानड्रेभा र इभान पेरिसिचले गोल गर्दै जित पक्का गरे ।