युभेन्ट्सको एटालान्टामाथी जित, अपराजित यात्रा कायमै

इटालियन लिग सिरी ‘ए’ मा साविक विजेता युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार भएको खेलमा युभेन्ट्सले एटालान्टालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एटालान्टाको मैदानमा गोन्जालो हिगुईन नायक बन्दा युभेन्ट्सले पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा रोबिन गोसेन्सले गोल एटालान्टालाई अग्रता दिलाएका थिए । तर, युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७४ औं मिनेटमा हिगुईनले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । ८२ औं मिनेटमा हिगुईनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा पाउल डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १३ खेलमा ३५ अंक जोड्दै अपराजित रहेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर भन्दा ४ अंकले अघि रहेको छ ।

एटालान्टाले १३ खेलबाट २२ अंक जोडेको छ । एटालान्टा लिगको पाँचौ स्थानमा रहेको छ ।