युभेन्टसले ११ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको ठाउँ गुमाउन सक्ने

सिरी एमा आइतबार युभेन्टस घरेलु मैदानमा एसी मिलानविरुद्ध पराजित भए पछि युभेन्टस ठुलो दबाबमा रहेको छ। च्याम्पियन्स लिग स्थानका लागि निकै महत्त्व बोकेको खेलमा मिलान ३-० ले विजयी भए पछि युभेन्टस अर्को सिजन च्याम्पियन्स लिग गुमाउने खतरामा रहेको छ।

हाल लिगमा युभे पाँचौँ स्थानमा पुगेको छ भने मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अङ्क रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचौँ स्थानको युभेन्टसको ३५ खेलमा ६९ अङ्क छ ।

अर्को सिजन च्याम्पियन्स लिगमा ठाउँ बनाउन युभे लिगको शीर्ष ४ भित्र पुग्नु पर्ने छ र हाल ३ खेल मात्र बाँकी रहेको बेला युभेन्टस निकै ठुलो दबाबमा रहेको छ। युभेन्टसको च्याम्पियन्स लिग आशा आफ्नो खेलमा मात्र नभै शीर्ष ४ भित्रका अन्य क्लबको खेल नतिजामा पनि निर्भर रहेको छ।

हाल लिगको ५औँ स्थानमा रहेको युभेन्टस अर्को सिजन युरोपा लिग खेल्न बाध्य हुन सक्छ भने ११मा पहिलो पटक युभेले च्याम्पियन्स लिगको ठाउँ गुमाउने छ। अन्तिम पटक २०१०को सिजनमा युभे लिगको सातौँ स्थानमा रहे पछि अर्को सिजन च्याम्पियन्स लिग गुमाएको थियो।

युभेन्टसले २०१३-१४को सिजनमा पनि युरोपा लिग खेलेको थियो तर त्यो समय च्याम्पियन्स लिगको ग्रुपको तेस्रो स्थानमा सीमित भए पछि युभेले युरोपाको राउन्डको ३२ खेलेको थियो।