युभेन्टसले डिबाला नबेच्ने अन्तिम निर्णय

२५ वर्षीय अर्जेन्टिनी तथा इटालियन क्लब युभेन्टसका पाउलो डिबाला अन्तत क्लबमै रहने पक्का भएको छ। उनलाई आएको सबै प्रस्ताव युभेन्टसले अस्वीकार गरिदिएको छ।

डिबालालाई युभेन्टसले बेच्ने भनिएको थियो। इंग्लिस क्लब टोटनह्यामले भित्र्याउने पक्का भएको थियो तर युभेन्टसले अन्तिम समयमा निर्णय बदल्दै टुरिनमै राख्ने निर्णय गर्यो।

युभेन्टसले डिबाला बेच्ने चर्चा सुरु भएसँगै उनलाई भित्र्याउन धैरै इंग्लिस क्लब लागि परेका थिए। म्यान्चेस्टर युनाइटेडले पहिलो प्रयास गरेको थियो ।

डिबालाले बढी पारिश्रमिक माग गरेको भन्दै युनाइटेड डिबाला अनुबन्ध गर्ने प्रक्रियाबाट पछि हटेको थियो। त्यसपछि टोटनह्याम उनलाई भित्र्याउने नजिक पुगे पनि अन्तिम समयमा आएर युभेन्टसले निर्णय परिवर्तन गर्दा डिबाला इटाली नै रहने पक्का भएको हो।

डिबालाले पछिलो सिजन टोलीका लागि १० गोल मात्र गरेका थिए।