युभेन्टसलाई पछि पार्दै पिएसजी स्टार गोलकिपर साइन गर्न नजिक

एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मालाई फ्री एजेन्टको रूपमा साइन गर्न फ्रेन्च क्लब पिएसजी धेरै नजिक पुगेको खबर छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार पिएसजी र उक्त स्टार गोलकिपर बिच वार्ता हुँदै गरेको छ र दुई बिच सम्झौता हुन नजिक रहेको छ।

इटालियन क्लब युभेन्टस पनि उनलाई साइन गर्न इच्छुक रहेको थियो तर हाल खबर अनुसार पिएसजी उनलाई भित्राउन धेरै नजिक पुगेको छ। पिएसजीले उनलाई €१२ मिलियन प्रति वर्षको तलब दिने जानकारी छ भने उनको सम्झौता २०२६ सम्म हुने छ।

२२ वर्षका युवा स्टारको सम्झौता मिलान सँग अन्त्य भए पछि उनी फ्री एजेन्ट भएका हुन्। युभेन्टस, म्यान्चेस्टर युनाइटेड, चेल्सी र पिएसजी जस्तो क्लबको नजरमा उनीमा रहेको धेरै चर्चा भएको थियो भने हाल पिएसजी उनलाई साइन गर्न सफल हुने देखिएको छ।

हाल मात्र लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गर्न दौडमा पिएसजीले बार्सालाई पछि पारेको थियो भने डोनारुम्मालाई साइन गर्न पनि पिएसजीले अन्य क्लबहरूलाई पछि पारेको छ।