युभेन्टसको जितमा रोनाल्डोले गरे गोल

सिरी ए अन्तर्गत अाइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ । फरवार्ड मारियो मान्जुकिचले अाठौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै दवाव कायम गरे । पहिलो हाफमा थप अवसर पाएपनि युभेन्टसले अग्रता बढाउन सफल भएन ।

मिलानले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि फरवार्ड गोन्जालो हिगुअाइन त्यसमा सफल भएनन् । मिलानले पाएको पेनाल्टीमा हिगुअाइनको प्रहार गोलरक्षक वजचिएक सेचेज्नीले बचाए । खेलको अन्तिम समयमा युभेले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोले ८३ अौं मिनेटमा गोल गर्दै युभेन्टसको जित पक्का गरे ।

यस जितसँगै युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता कायम राख्न सफल भएको छ । पछिल्लो ६ सिजन लगातार लिग जितेको युभेलाई नेपोलीले पछ्याइरहेको छ ।