युभेन्टसको अपराजित यात्रालाई म्यान्चेस्टर युनाइटेडले लगाइदियो पूर्ण विराम

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा गोलको खाता खोलेको खेलमा युभेन्टस पराजित भएको छ । अन्तिम ३२ अन्तर्गत आफ्नो घरेलु मैदानमा भएको चौथो खेलमा रोनाल्डोको टोली युभेन्टस २–१ ले पराजित भयो ।

खेलमा अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टसले घरेलु मैदानमा सिजनको पहिलो हार व्यहोर्न पुग्यो । यससँगै युभेन्टसको यो सिजनको १५ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । यसअघि युभेन्टस कुनै पनि खेलमा हारेको थिएन ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेडले नाटकीय पुनरागमन गरेपछि युभेन्टस स्तब्ध भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसका लागि रोनाल्डोले दर्शनीय गोल गरेका थिए, जुन उनको च्याम्पियन्स लिगमा यस सिजनको पहिलो गोल थियो ।
उनले खेलको ६५औं मिनेटमा गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८६औं मिनेटमा युनाइटेडले गोल फर्कायो । माटाले फ्रि किकमा गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो ।

त्यसपछि त्यसको ३ मिनेटपछि नै युभेन्टसले आत्मघाती गोल हान्यो । फ्रि किकमा आएको बल क्लियर गर्न खोज्दा युभेन्टसका डिफेन्डर एलेक्स सान्ड्रोलाई लाग्दै बलले पोस्टको दिशा लिएपछि युभेन्टस आफ्नै घरमा पराजित भयो ।

यो हारपछि पनि युभेन्टस ४ खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा यथावत छ । दोसो स्थानमा युनाइटेड ७ अंकसहित उक्लिँदा तेस्रो स्थानमा भ्यालेन्सिया ५ अंकसहित रहेको छ