युनाइटेडको खेलाडी भित्र्याउने दौडमा एभरटन र वेस्ट ह्याम

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका खेलाडी जेस्सी लिङ्गार्ड भित्र्याउने दौडमा दुई इङलिस क्लब एभरटन र वेस्ट ह्याम देखिएका छन्। रिपोर्टका अनुसार हाल लिङ्गार्डको मूल्य करिब २५ मिलियन पाउन्ड रहेको छ।

लिङ्गार्डले युनाइटेडमा पर्याप्त खेल समय नपाएकाले उनले गत सिजनको मध्यमा नै वेस्ट ह्याममा लोनमा जानू परेको थियो। वेस्ट ह्याममा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यसै कारणले धेरै क्लबहरुको नजर उनी माथी पर्न गएको देखिन्छ।
हालै युनाइटेडका प्रशिक्षक ओले गनर शोल्सरले भने लिङ्गार्ड क्लबको योजनाहरुमा रहेको भनी जानकारी दिएका थिए। यसका साथसाथै उनले लिङ्गार्ड टिममा आफ्नो स्थानका लागि लड्न तयार रहेकोे पनि भनेका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २११ खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्यामका लागि भने उनले १६ खेलमा ९ गोल र ४ असिस्ट गरेका थिए।