युइएफए मेन्स प्लेयर अफ द यरको शीर्ष ३ सुची सार्वजनिक

युइएफएले वर्ष २०१९ का लागि पुरुषतर्फ दिने ‘युइएफए मेन्स प्लेयर अफ द यर’ अवार्डका लागि शीर्ष तीनको सूची सार्वजनिक गरेको छ । संस्थाले आज साँझ ३ जना खेलाडीको अन्तिम सूची सार्वजकि गरेको हो ।

सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी, इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइक र इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यसअघि युइएफएले टप–१० सूची सार्वजनिक गरेको थियो । त्यसबाट भोटिङ तथा अन्य मूल्यांकनका आधारमा अन्तिम ३ जना खेलाडीको सूची सार्वजनिक गरिएको हो ।

लिभरपुलका डिफेन्डर भान डाइकले गत सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग जिताउन तथा प्रिमियर लिगमा उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका दिलाएका थिए । गत राति मात्रै लिभरपुलले युइएफए सुपर कपको उपाधिसमेत जितेको छ ।

बार्सिलोनाका मेस्सीले गत वर्ष टिमलाई घरेलु लिग ला लिगा जिताउन महत्त्वपूर्ण योगदान दिँदै कूल ५१ गोल गरेका थिए । त्यस्तै, रोनाल्डोले गत सिजन युभेन्टसलाई दुई उपाधि तथा यसै वर्ष पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि जिताउन प्रमुख भूमिका निभाएका थिए ।