युइएफए नेसन्स लिग : क्रोएसियाको स्पेन माथी जित

युइएफए नेसन्स लिग फुटबलमा रसिया विश्वकपको उपविजेता क्रोएसियाले सन् २०१० को विश्वविजेता स्पेनलाई हराएको छ । गत राति क्रोएसियामा भएको खेलमा घरेलु टोलीले पाहुना टोली स्पेनलाई ३–२ ले स्तब्ध बनायो । यससँगै क्रोएसियाले नेसन्स लिगमै गत सेप्टेम्बर ११ मा स्पेनमा भोगेको ६–० को नमिठो हारको बदला पनि लिएको छ ।

विश्वकपपछिको पहिलो खेलमा क्रोएसियालाई त्यसबेला स्पेनले ६–० ले स्तब्ध बनाएको थियो । तर, यसपटक क्रोएसियाले स्पेनमाथि उस्तै नतिजा निकाल्यो । उसले स्पेनलाई आफ्नो घरमा बोलाएर यसअघिको बदला जस्ताको तस्तै लियो । यससँगै नयाँ प्रशिक्षक लुइस इनरिकेको नेतृत्वमा स्पेन पहिलोटक पराजित भएको छ । बार्सिलोनाका पूर्वप्रशिक्षसमेत रहेका इनरिके केही समयअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए ।

रसिया विश्वकपपछि खेलमा खराब नतिजा भोग्दै आएको क्रोएसियाले यस खेलमा भने विश्वकपको स्तर देखायो । र, आफ्नो घरमा बलियो टोलीलाई हारको स्वाद चखायो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ ०–० मा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै टोलीबाट गोलको वर्षा नै भयो ।

खेलमा अग्रता घरेलु टोली क्रोएसियाले लिएको थियो । उसका लागि खेलको ५४औं मिनेटमा आन्द्रेज क्रमार्सियाले गोल गरे । तर, त्यसको २ मिनेटमै स्पेनका लागि ड्यानी सेबालोसले गोल गरेर खेल बराबरी बनाए ।

त्यसपछि फेरि क्रोएसियाले ६९औं मिनेटमा गोल गरेर अग्रता लियो । सो गोल टिन जेदभाजले गरे । तर, ७८औं मिनेटमा स्पेनका लागि कप्तान सर्जियो रामोसले पेनाल्टीबाट गोल गरेर खेल २–२ को बराबरी बनाए ।
खेल बराबरीमा टुंगिन लागेका बेला ९० मिनेटपछिको समयमा जेदभाजले नै व्यक्तिगत दोस्रो गोल गरेर अन्तिम समयमा स्पेनविरुद्ध टोलीलाई जित दिलाए ।

यो हारपछि पनि स्पेन आफ्नो समूह लिग–ए, ग्रुप–४ को शीर्ष स्थानमै छ । उसले यसअघिका २ वटै खेल जितेर ६ अंक बनाएको छ । यता, विजयी क्रोएसियाले ३ मा एक खेल, एक बराबरी र एकमा हार व्यहोर्दै ४ अंक लिएर तेस्रो स्थानमा छ ।