यी हुन् यो सिजन च्याम्पियन्स लिगमा धेरै गोल गर्ने टोली!

युरोपियन क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटर फाइनल पुग्ने सबै ८ टोलीले प्रतियोगितामा यो सिजन ९ खेल खेलिसकेका छन् । क्वार्टरफाइनलका पनि पहिलो लेग सम्पन्न भइसकेका छन् । यो सिजन क्वार्टरफाइनल पहिलो लेगको समाप्ती सम्ममा ३ सय ६७ गोल भएका छन् ।
यो सिजन व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो सबैभन्दा माथि छन् । त्यस्तै सबैभन्दा असिस्ट गर्ने खेलाडीमा लिभरपुलका जेम्स मिल्नर छन् । रोनाल्डोले १४ गोल गरेका छन् भने मिल्नरले ८ गोलमा असिस्ट गरेका छन् ।

तर, सर्वाधिक गोल गर्ने क्लब रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना लगायातका युरोपका बलियो क्लब कुनै पनि शीर्षस्थानमा छैनन् । यो सिजनमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्नेमा इङ्लिस क्लब लिभरपुल रहेको छ । लिभरपुलले ९ खेलमा ३१ गोल गरेको छ । लिभरपुलका रोबर्टो फर्मिनो, साडियो माने र मोहम्मद सालाहले समान ७ गोल गरेका छन्। २७ गोलसहित पेरिस सेन्ट जर्मेन (पिएसजी ) दोस्रो स्थानमा छ ।

अन्तिम १६ को खेलमा रियल म्याड्रिडसँग पराजित हुँदै बाहिरिएको पिएसजीले ८ खेलमा २७ गोल गरेको थियो । धेरै गोल गर्नेमा क्लबमा रियल तेस्रो स्थानमा छ । रियलले ९ खेलमा २५ गोल गर्दा क्रिस्टियानो एक्लैले १४ गोल गरेका छन् । बायर्नले २३ गोल गरेको छ । त्यस्तै म्यानचेस्टर सिटीले १९ गोल गरेको छ । क्वार्टरफाइनलको पहिलो खेलमा रोमाविरुद्ध उच्च प्रदर्शन गरेको बार्सिलोनाले ९ खेलमा १७ गोल गरेको छ ।

         क्लब                     गोल

१. लिभरपुल –                 ३१

२. पिएसजी –                  २७

३. रियल म्याड्रिड –         २५

४. बायर्न म्युनिख –        २३

५. म्यानचेस्टर सिटी –  १९

६. टोटेनह्याम –            १८

७. चेल्सी –                     १७

८. बार्सिलोना –              १७

९. पोर्टो –                      १५

१०. सेभिल्ला –             १५

त्यस्तै रोमाले १२ गोल गरेको छ भने युभेन्टसले ११ गोल गरेको छ।