यी ब्राजिलियन खेलाडीहरू यस हप्ताको प्रिमियर लिग खेलहरू खेल्नबाट प्रतिबन्धित

अर्जेन्टिना र ब्राजिल बिचको २०२२ विश्वकप छनोट खेल निकै विवादास्पद रुपमा स्थगित भएको थियो। बेलायतबाट क्लब फुटबल खेल्दै आएका खेलाडीहरू क्वारेन्टिन नबसेको कारण खेल स्थगित भएको थियो भने धेरै जस्ता प्रिमियर लिग क्लबले आफ्नो ब्राजिलियन खेलाडीहरूलाई उक्त खेलमा सामेल हुने रोकेको थियो।

प्रिमियर लिग क्लबहरूले उक्त खेलको लागि ब्राजिलियन खेलाडीहरू रिलिज नगरे पछि ब्राजिलियन फुटबल संघ उक्त क्लबहरूबाट आक्रोशित थिए भने ब्राजिलियन फुटबल संघले उक्त क्लबहरू बारे फिफामा उजुरी दिए पछि फिफाले प्रिमियर लिग क्लबहरूलाई ८ ब्राजिलियन खेलाडीहरूलाई यो हप्ता खेलाउनबाट रोक्ने भएको छ।

राष्ट्रिय टिमको खेलको लागि क्लबले खेलाडीहरूलाई रिलिज गर्नु पर्ने हुने छ तर प्रिमियर लिगका केही क्लबले आफ्नो ब्राजिलियन खेलाडीहरू रोके पछि हाल उक्त खेलाडीलाई आउँदो प्रिमियर लिग खेलमा खेलाउन फिफाले रोक्ने भएको छ।

लिभरपुलले फ्याबिन्हो, रोबर्टो फिर्मिनो र एलिसन बेकरलाई आउँदो लिग खेलमा सामेल गर्न पाउने छैन भने म्यान सिटीले गेब्रियल जेसुस र एडर्सनलाई प्रयोग गर्न पाउने छैन।

लीड्स युनाइटेडको राफिना, म्यानचेस्टर युनाइटेडका फ्रेड र चेल्सीका थियागो सिल्भा पनि फिफाको उक्त कारबाहीबाट प्रभावित हुने छन् भने युनाइटेडका फ्रेड र चेल्सीका थियागो सिल्भाले च्याम्पियन्स लिगको खेल पनि गुमाउन सक्ने खबर छ।

ब्राजिलमा महामारी अनियन्त्रित भएको र खेलाडीहरू फर्के पछि क्वारेन्टिनमा बस्न पर्ने हुनाले प्रिमियर लिग क्लबहरूले आफ्ना ब्राजिलियन खेलाडीलाई आफ्नो राष्ट्रिय टिममा खेल्नबाट रोकेको थियो।