यी दुई खेलाडी र मोटो रकम दिदै बार्सिलोनाले नेयमार भित्र्याउने

बार्सिलोनाले आफ्ना पूर्वस्टार खेलाडी नेइमार फर्काउन पहिलोपटक अफिसियल प्रस्ताव पिएसजीसँग गरेको छ ।

‘एएस’ र ‘मार्सा’का अनुसार बार्सिलोनाले २७ वर्षीय ब्राजिलियन स्टार नेइमारको फिर्तीका लागि दुई स्टार खेलाडीसहित निश्चित रकमसमेत दिने गरी प्रस्ताव गरेको हो ।

जसमा बार्सिलोनाले पिएसजीलाई आफ्ना ब्राजिलियन स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेले गरी दुईजना खेलाडी प्रस्ताव गरेको छ । सँगै, ४० मिलियन युरोको मोटो रकमसमेत प्रस्ताव गरेको छ ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो भने कोउटिन्होले अघिल्लो वर्षको जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बार्सिलोनाले डेम्बेले र कोउटिन्होका लागि खेर्चेको खरिद मूल्य २६५ मिलियन हुन्छ । त्यसैगरी, बासिलोनाले दिन तयार ४० मिलियन रकमसमेत जोड्दा नेइमारको मूल्य ३०५ मिलियन कायम हुन्छ ।