यी खेलाडीहरु प्लेयर अफ द ईयर अवार्डको लिस्टमा परेका छन्!

म्यानचेष्टर सिटीका तीन स्टार केभिन डि ब्रुईन, लेराए सेन र डेभिड सिल्भा यस सिजन प्रोफेशनल फुटबलर्स एसोसिएशन प्लेयर अफ द ईयर २०१७–१८ को शर्ट लिस्टमा परेका छन् । त्यस्तै टोटेनह्यामका हेरी केन, लिभरपुलका मोहमद सलाह र म्यानचेष्टर युनाइटेडका गोलरक्षक डेभिड डे हेया पनि अन्तिम ६ को शर्ट लिस्टमा परेका छन् ।

प्लेयर अफ द ईयरको घोषणा यहि अप्रिल २२ तारीखका दिन हुने पिएफएको वार्षिक अवार्ड कार्यक्रममा गरिनेछ । सिटीका सेन योंग प्लेयर अफ द ईयरको शर्ट लिस्टमा समेत परेका छन् । यो लिस्टमा सिटी कै गोलरक्षक एन्डरसन र विंगर रहिम स्टिर्लिङ्ग पनि परेका छन् । त्यस्तै यस विधातर्फ म्यानचेष्टर युनाइटेडका मार्कस रेशफोर्ड र फूलह्यामका रयान सेस्सेयोन पनि परेका छन् ।

म्यानचेष्टर सिटीले यस सिजनको प्रिमियर लिग उपाधि जितिसकेको छ । सिटीको सफलतामा स्टार मिडफिल्डर केभिन डि ब्रुईनको प्रदर्शन पनि उत्कृष्ट थियो । उनले यस सिजन सबैभन्दा बढी १५ एसिस्ट गर्दै गोलको अवसर सिर्जना गरेका छन् ।

त्यस्तै जर्मन विंगर लेराए सेनले पनि १२ एसिस्ट गरेका छन् । साथै उनको नाममा ९ गोल समेत छ । त्यस्तै डेभिड सिल्भाको नाममा ८ गोल र ११ एसिस्ट छन् । त्यसैगरी हेरी केनले टोटेनह्यामका लागि यस सिजन २५ गोल गरेका छन् भने लिभरपुलका मोहमद सलाह ३० गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् । उता म्यानचेष्टर युनाइटेडका स्पेनीस गोलरक्षक डेभिड डे हेयाले क्लबसँग यस सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । र डेभिड सन् १९७८ मा पिटर शिल्टनपछि यो अवार्ड जित्ने पहिलो गोलरक्षक बन्ने होडमा छन् ।