यस सिजन सबै कुरा जित्नमा सक्षम छ रियल मेड्रिड : पेरेज

रियल मेड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो क्लब सिजनको शुरुवात खराब रुपमा गरे पनि बाँकी सबै खेलहरु जित्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन् । शनिबार रियल भालाडोलिडलाई हराएपछि रियल हाल स्पेनिस ला लिगातर्फ ११ खेलबाट १८ अंकका साथ छैठौं स्थानमा छ ।

फोर फोर टुका अनुसार सिजनको खराब शुरुवात र नयाँ म्यानेजरको खोजीमा रहेको रियल मेड्रिडको क्वालिटीमाथि कसैले शंका गर्न नहुने पेरेजको बुझाई छ ।

एक कार्यक्रममा सहभागी हुन पुगेका पेरेजले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै भनेका छन्, “हामीसँग एउटा महान स्क्वाड छ, जसले सबैकुरा जित्न सक्छ भन्ने प्रमाणित गरेको छ । यस सिजन हामीले जे लक्ष्य बनाएका थियौं त्यो अहिले पनि कायम छ । हामी रियल मेड्रिडको इतिहासमा सबैभन्दा असाधारण क्षण मध्ये एकको अनुभव गरिरहेका छौं ।

हामीले यसको साथ साथै हाम्रो उपलब्धीहरुको पनि सम्मान गर्नुपर्छ । यो टिमले लगभग सबै कुरा जितेको छ । हामीले ऐतिहासिक उपलब्धीहरु आफ्नो नाममा गरेका छौं, जुन प्रयोगात्मक रुपमा फेरि दोहोर्याएर गर्नु असम्भव छ । हामीले पछिल्ला तीन वा चार सिजनमा लगातार तीन च्याम्पियन्स लिग जितेका छौं ।”

स्मरणीय छ कि रियलले आफ्नो पूर्व म्यानेजर जिनेदिन जिदानको व्यवस्थापकीय जिम्मेवारीमा लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । गत सिजनको मे महिनामा रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि जिदानले अप्रत्याशित रुपमा क्लबको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।