यस कारण रोहित चन्दले बाङ्लादेशबिरुद्धको खेल गुमाउने

रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

प्रशिक्षणको दौरान चोट बोकेपछि मिडफिल्डर रोहितले बंगलादेशको भ्रमण गुमाउने भएका हुन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले चोट बोकेको कारण रोहितले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने बताए ।

रोहितले चोट बोकेसँगै ८ खेलाडीले बंगलादेश भ्रमण नगर्ने भएका छन् ।

अन्य ७ खेलाडी भने कोरोना संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना देखिने खेलाडीको नाम गोप्य राखेको छ । तर, कोरोना देखिने प्लेइङ सेटमा पर्ने खेलाडीहरु भएको एन्फा स्रोतले जनाएको छ ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।