यस्ता छन् ए डिभिजन लिग खेल्ने विदेशी खेलाडी

नेपाली क्लब फुटबलमा अफ्रिकन खेलाडीको भूमिका ठूलो रहँदै आएको छ । कुनै पनि टिमले लिग जित्ने तयारी गर्दै गर्दा एउटा महत्वपूर्ण पाटो अफ्रिकन खेलाडीको अनुबन्ध हो । जुन क्लबले उत्कृष्ट अफ्रिकन खेलाडी अनुबन्ध गर्न सक्यो, उसको स्वभाविक रुपमा प्रदर्शन राम्रो रहँदै आएको छ ।

तीन वटा विभागीय टिमबाहेक बाँकी एघारै वटा क्लबले विदेशी खेलाडी अनुबन्ध गर्नु अनिवार्य जस्तै भएको छ । नेपाली खेलाडीको तुलनामा फिजिकल र टेक्निकल दुबै पक्षमा अफ्रिकन खेलाडी अब्बल रहँदै आएका छन् ।

यसको अर्थ उनीहरु सबैले नेपाली खेलाडीभन्दा राम्रो खेल्छन् भन्ने होइन । तर, क्लबका पदाधिकारी अफ्रिकन खेलाडीलाई आफ्नो शक्तिका रुपमा हेरिरहेका छन् ।

त्यसैले अफ्रिकन खेलाडीका लागि क्लबले ठूलो खर्च पनि गर्ने गरेका छन् । उनीहरुको मासिक पारिश्रमिक र अन्य सुविधा नेपाली खेलाडीभन्दा धेरै नै हुने गरेको छ ।

ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरिएको छ । जसमा एक जना सार्क देशको हुनु पर्ने अनिवार्य छ । तर, तीनजनामात्र विदेशी अनुबन्ध गरेको अवस्थामा भने यो नियम लागु हुनेछैन ।

एउटा अफ्रिकन खेलाडीका लागि क्लबले मासिक न्यूनतम ३५० देखि १२०० अमेरिकी पारिश्रमिक दिने गरेका छन् । केही क्लबले उत्कृष्ट खेलाडीका लागि मासिक दुई हजार अमेरिकी डलर समेत खर्च गर्ने गरेका छन् ।

आशन्न लिगका लागि प्राय प्रायः क्लबले विदेशी खेलाडी अनुबन्ध प्रक्रिया अघि बढाइसकेका छन् भने केहीले उनीहरुको ‘ट्रायल’ गरिरहेका छन् ।

नेपालमा लिग खेल्ने अफ्रिकन खेलाडीमा नाइजेरियाका खेलाडीको वर्चश्व रहँदै आएको छ । यो सिजनमा पनि अहिलेसम्म १२ जना नाइजेरियन खेलाडी पक्का भइसकेका छन् । यस्तै क्यामरुनबाट पाँच जना, आइभरी कोस्टबाट चार, गिनीबाट दुई तथा माली, बुर्किना फासो र घानाबाट एक–एक खेलाडी ए डिभिजन लिगका लागि अनुबन्ध भएका छन् ।