यसरी बार्सिलोना युभेन्ट्सको बाधक बन्दै छ

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगको सबैभन्दा बलियो टिम स्पेनिस क्लब बार्सिलोना रहेको बताएका छन् । गएको सिजन रियल मड्रिड बलियो टिमभन्दा उपाधि नै जितेको सम्झँदै उनले यो पटक त्यस्तो नहोस् भन्ने कामना पनि गरे । यो सिजन बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

एलेग्रीले आफूहरु च्याम्पियन्स लिगमा एकपछि अर्को खेललाई विचार गर्दै बढ्ने बताउँदै भने, ‘हामी एकपछि अर्को खेलमा राम्रो गर्दै बढ्न चाहन्छौँ । हरेक वर्ष सबै क्लबको चाहना च्याम्पियन्स लिग जित्ने नै हुन्छ । यसपटक बार्सिलोनाको सम्भावना बलियो देखेको छु ।’

पछिल्लो दुई फाइनलमा पराजित हुँदा पनि युभेन्टसका प्रशिक्षक एलेग्री नै थिए । च्याम्पियन्स लिग इतिहासमै सबैभन्दा धेरै ७ पटक फाइनलमा पराजित भएको युभेन्टसले दुई पटक उपाधि जितेको छ । यसपटक रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस आएकाले च्याम्पियन्स लिगमा धेरैको ध्यान युभेन्टसतिर नै छ ।

‘च्याम्पियन्स लिगमा मात्रै होइन । सिरी ए मा अझै धेरै खेल खेल्न बाँकी नै छ । सिजिनको अन्त्यसम्ममा कति कठीन खेलहरु पनि आउने छन् । च्याम्पियन्स लिग एकपटकमा एक खेललाई मात्रै ध्यान दिनुपर्छ ।

उनले स्पेनिस क्लब बार्सिलोना यो सिजन राम्रो रहेको भन्दै भने, ‘मेरो व्यक्तिगत विचारमा यो पटक सबैभन्दा राम्रो टिम बार्सिलोना हो जस्तो लाग्छ । गएको वर्ष मैले रियल मड्रिड राम्रो भनेको थिएँ, अन्तिममा जित्यो नै । यसपटक बार्सिलोनासँग त्यस्तो भने नहोस् ।’