‘यसपटक रोनाल्डो र मेस्सी दुवैले बालोन डि‘ओर जित्दैनन्’ – हाजार्ड

चेल्सी तथा बेल्जियमका कप्तानसमेत रहेका स्टार खेलाडी इडेन हाजार्डले सन् २०१८ को बालोन डि‘ओर कसले जत्छ भन्ने विषयमा बोलेका छन् । शुक्रबार युइएफए नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै हाजार्डले यसपटक बालोन डि‘ओर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका मेस्सी दुवैले नजित्ने बताएका छन् ।

पत्रकारले सोधेको प्रश्नमा हाजार्डले जवाफ दिँदै यसबारे बोलेका हुन् । स्मरण रहोस्, हाजार्ड पनि प्रारम्भिक मनोनयनको ३० भित्र परेका छन् । पत्रकारको प्रश्नमा हाजार्डले हाँस्दै आफूले अवार्ड नजित्ने बताए ।

‘मेरो विचारमा म यो अवार्ड जित्दिनँ,’ उनले भने, ‘जित्ने अरू नै छन् ।’

हाजार्डले अघि थपे, ‘मलाई लाग्छ, यसपटक रोनाल्डो र मेस्सी दुवैले यो अवार्ड जित्दैनन् । यसपटक सबैभन्दा बलियो हकदार लुका मोड्रिक हुन्, उनले जिते अवार्ड स्वयं सम्मानित हुनेछ ।’

मोड्रिकले गत सिजन च्याम्पियन्स लिगका साथै क्लब विश्वकप पनि जितेको र रसिया विश्वकपमा क्रोएसियालाई फाइनलसम्म लगेकोमा उनी मुख्य दाबेदार रहेको बताए । ‘अवश्य पनि, गत सिजन मोड्रिकका लागि शानदार रह्यो, यसपालि बालोन डि‘ओर उनले जित्छन् ।’