‘म रोनाल्डो बन्न म्याड्रिड आएको होइन’ – फेलिक्स

फेलिक्स गतसाता मात्र १ सय २६ मिलियन युरोमा बेन्फिकाबाट एटलेटिको म्याड्रिड आएका थिए । उनलाई एटलेटिकोले ७ नम्बर जर्सी दिँदै टोलीको महत्त्वपूर्ण खेलाडी रहेको समेत संकेत दिएको छ ।

रियल म्याड्रिडमा रहँदा फेलिक्सका पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले पनि ७ नम्बर जर्सी नै लगाएका थिए । फेलिक्सले रोनाल्डोसँग स्पेन र विशेषगरि म्याड्रिडको विषयमा सल्लाह लिएको बताए ।

फेलिक्सले रोनाल्डोसँग उनको तुलना नगर्न पनि आग्रह गरे । ‘क्रिस्टियानो विश्वकै उत्कृष्ट खेलाडी हुन् । हामी पोर्चुगलबाट सँगै खेल्दा उनले मलाई म्याड्रिडको निकै प्रशंसा गरे,’ उनले थपे, ‘म यहाँ आफ्नो इतिहास लेख्न आएको हुँ र मेरो नामबाट नै चिनिन चाहन्छु । रोनाल्डोसँग तुलना गर्नुभन्दा मा आफ्नो नाम बनाउन चाहन्छु ।’

‘म एटलेटिकोसँग इतिहास बनाउने लक्ष्यसहित यहाँ आएको छु । बजारमा के भयो भन्दापनि म मैदानमा कस्तो प्रदर्शन गर्ने भन्नेमा ध्यान दिन चाहन्छु । बजारको भाउ मेरो हातमा छैन तर मेरो प्रदर्शनका लागि म जिम्मेवार हुन्छु ,’ उनले भने ।