‘म रोनाल्डो जस्तै बन्न चाहन्थें, मेरो पहिलो जर्सी उनकै थियो’

डि लिग्टले क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले आफूले सानो छँदा देखि नै पछि रोनाल्डो जस्तै बन्ने सपना देख्दै आएको बताएका छन् ।

१९ वर्षीय युवा खेलाडी डि लिग्टलाई युभेन्टसले भित्र्याउने करिब पक्का भएको छ । केही समयअघि पोर्चुगलमा युइएफए नेसन्स लिगको फाइनल खेल दौरान रोनाल्डोले डि लिग्टसँग युभेन्टसमा अनुबन्ध हुने अनुरोध गरेका थिए ।

डि लिग्टले हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोको तारिफ गरेका छन् । उनले रोनाल्डोलाई आफूले सानैबाट विशेष रूपले हेर्दै आएको बताए ।

‘जतिबेला म बाल्यावस्थामा थिएँ, हामी पनि साना–साना मैदानमा फुटबल खेल्थ्यौं, त्यसबेलाबाटै म सधैं क्रिस्टियानो रोनाल्डोजस्तै बन्न चाहन्थें । उनी मेरा आइडल हुन्,’ डि लिग्टले भने ।

डि लिग्टले अघि थपे, ‘जतिबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडमा थिए, उनको जर्सी नै मेरो पहिलो जर्सी थियो ।’