‘म रोनाल्डोलाई सधै मिस गर्नेछु’ – रियल मड्रिडका अध्यक्ष पेरेज

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोलाई कहिल्यै नबिर्सने बताएका छन् । यसै साता स्पेनमा रोनाल्डोलाई दिइएको ‘मार्सा लिजेन्ड अवार्ड’ लिने कार्यक्रममा सहभागी हुन पुगेका उनले त्यसपछि एक अन्तर्वार्तामा बोल्दै आफ्ना पूर्वस्टार खेलाडीबारे बोलेका हुन् ।

रोनाल्डोले सो अवार्ड ग्रहण गरेपछि पेरेजले रोनाल्डोसँग कुराकानी गर्नुका साथै तस्बिरसमेत खिचाएका थिए । रोनाल्डो अघिल्लो वर्ष ९ वर्षपछि रियल छाडेर इटालियन युभेन्टस पुगेका थिए । रियलले उनलाई ११६ मिलियन युरोमा बेचेको थियो ।

रोनाल्डोले रियल छाड्नुमा पेरेज नै मुख्य कारण भएको बताइन्छ । रोनाल्डोले आश्वासनअनुसार क्लबले सर्त पूरा नगर्दा रोनाल्डो क्लबसँग रिसाएका थिए । त्यसैगरी, अघिल्लो वर्ष रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग जितेपछि रियलले रोनाल्डोको विकल्प खोज्दै ब्राजिलियन नेइमार ल्याउन चासो दिएपछि रोनाल्डो बेखुसी हुँदै क्लब छाड्ने मनस्थितिमा पुगेका थिए ।

सोही वर्ष रोनाल्डोसँगै प्रशिक्षक जिनेदिन जिदानले पनि रियल छाडेका थिए । उनीहरूले मात्रै दुई साताको बीचमा क्लब छाडेका थिए । हाल जिदान दोस्रोपटक रियल फर्किसकेका छन् भने रोनाल्डो युभेन्टसमै छन् ।

तर, परेरेजले पनि रोनाल्डोलाई आफूले एकदमै मिस गर्ने बताएका छन् । पेरेजले यो पनि बताएका छन् कि, रोनाल्डो उनको कार्यकालमा अनुबन्ध भएका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । ‘मैले पहिलेबाटै भन्दै आएको छु– क्रिस्टियानो मैले अनुबन्ध गरेकामध्ये सबैभन्दा उत्कृष्ट र सफल खेलाडी हुन्,’ पेरेजले भने ।

रोनाल्डो रियल छाडेर गए पनि आफूले उनलाई सधैं सम्झिरहने पेरेजले बताए । ‘म उनलाई सधैं सम्झिरहने छु । म उनको ठूलो फ्यान हुँ । उनी सर्वोत्कृष्ट छन्, यही हो । नत्र म यहाँ किन आउँथें,’ पेरेजले भने, ‘उनी गएको एक वर्ष भयो । तर, म उनलाई एकदमै मिस गर्छु ।’