“म रोनाल्डोलाई म्यानचेस्टर सिटीमा खेलेको कल्पना पनि गर्न सक्दिन”

रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा फिर्ता गर्न आफ्नो पनि संलग्नता रहेको युनाइटेडका पूर्व कोच सर एलेक्स फर्गुसनले स्वीकार गरेका छन्। रोनाल्डो सिटीमा जान नजिक रहेको कुरा सुने पछि रोनाल्डोलाई युनाइटेडमा फर्काउन आफ्नो पनि भूमिका रहेको उनले खुलाए।

ट्रान्सफर विन्डोमा युभेन्टसबाट रोनाल्डो म्यान सिटी जान धेरै नजिक रहेको चर्चा भएको थियो तर अन्त्यमा उनी आफ्नो पूर्व क्लब युनाइटेड फर्के र सो कुराबाट क्लबका लेजेण्ड कोच एलेक्स फर्गुसन धेरै खुसी छन् र रोनाल्डोलाई सिटीमा खेलेको आफूले कल्पना पनि गर्न नसक्ने उनले बताए।

“म उनलाई म्यानचेस्टर सिटी को लागी खेलेको कल्पना पनि गर्न सक्दिन – मलाई लाग्दैन कि कसैले पनि यो गर्न सक्छ,” सर एलेक्स फर्गुसन भिड प्ले सँगको अन्तर्वार्तामा बताए।

“त्यसैले हामीले यो सुनिश्चित गर्नको लागी कदम चालेका थियौँ कि उनी यहाँ आए।

“क्लबले उनलाई राम्रोसँग पछ्यायो, मैले ग्लेजरस(क्लब मालिक)सँग कुरा गरेँ, र त्यसपछि यो कुरा सकियो।”

रोनाल्डोलाई क्लबमा फिर्ता गर्न आफू मात्र नभै क्लबका अन्य सदस्यहरूको पनि ठुलो भूमिका रहेको उनले बताए।

“क्लबका धेरै व्यक्तिहरूले आफ्नो भूमिका खेले,” लेजेण्ड स्कट कोचले भने।

“मैले थोरै योगदान दिएँ, तर वास्तवमा क्रिस्टियानो साँच्चै यहाँ आउन चाहन्थे, त्यो महत्त्वपूर्ण थियो।”